साउदी अरेबिया: खराब कम्पनीमा कामदार नपठाउने निर्णय

  • 5 डिसेम्बर 2016
नेपाल तस्वीर कपीराइट Getty Images

सरकारले साउदी अरेबियाको खराब सूचीमा रहेका रोजगारदाता कम्पनीहरुमा नेपाली कामदार पठाउन स्वीकृति नदिने भएको छ।

त्यस्ता कम्पनीको सूची सबै वैदेशिक रोजगारदाता कम्पनीलाई उपलब्ध गराएर उनीहरुलाई कमदार नपठाउन निर्देशन दिइने अधिकारीहरुले बताएका छन्।

यसबारेमा सरकार र वैदेशिक रोजगार व्यवसायी बीच आइतबार ७ बुंदे सहमति भएको छ।

विगतमा कतिपय साउदी कम्पनीले कामदारहरु तलब उपलब्ध नगराउँदा उनीहरु स्वेदश फर्कनुपरेको खबरहरु आएका थिए।

कालो सूची

श्रम मन्त्रालयको वैदेशिक रोजगार विभागले साउदी अरेबियामा रहेको नेपाली राजदूताबास मार्फत् 'रेड' अर्थात खराब सूचीमा रहेका कम्पनीहरुको नाम मागिसकेको छ।

त्यस्ता कम्पनी बाहेक दूतावासमा परेको उजुरीको आधारमा पुष्टि भएको कम्पनीलाई समेत कालो सूचीमा राखिनेछ।

र त्यस्ता कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय भएको श्रम मन्त्रालयका सहसचिव गोविन्दमणि भूर्तेलले बताए।

उनले भने, "रेड जोनमा परेका र जुन कम्पनीमा नेपालीहरुले दुख पाएका छन्, तलब पाएका छैनन् त्यस्ता खराब कम्पनीहरुमा माग ल्याएमा हामी अन्तिम स्वीकृति दिँदैनौं। त्यसबाट समस्या कम भएर जान्छ भन्ने हाम्रो विश्वास हो।"

वैदेशिक रोजगार विभाग र नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघ बिच कामदारलाई समस्या हुन नदिन ७ वटा विषयमा सहमति भएको छ।

सहमति

तस्वीर कपीराइट Reuters

उक्त सहमतिपत्रमा सम्झौता गरे बमोजिमको काम र तलब नदिइए फर्किन चाहने कामदारलाई देश फिर्तीका लागि आवश्यक कागजात उपलब्ध गराउनुपर्ने उल्लेख छ।

त्यसबाहेक अब रोजगारदाता कम्पनीको नाम र सम्झौताको पत्र पनि श्रम स्वीकृति लिनु अघि नै पेश गर्नुपर्ने छ।

वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव रोहन गुरुङले भने, "रेड जोनमा रहेका कम्पनीको नाम पाएपछि हामी सबै म्यानपावरलाई सूचित गराउनेछौं। त्यस्ता कम्पनीबाट कामदारको माग नलिन र नपठाउन हामी सूचना जारी गर्नेछौं।"

साउदी अरेबियामा मात्र होइन खाडी राष्ट्रमा काम गरिरहेका लाखौं नेपाली कामदारले विभिन्न किसिमका समस्या भोग्दै आएको देखिन्छ।

तर सरकारले कामदारका समस्या न्यून गर्न पर्याप्त ध्यान नदिने गरेको गुनासो व्यापक रुपमा प्रकाशमा आउने गरेका छन्।