अलेप्पो संघर्ष ‘विद्रोही पछि हटे’

  • 7 डिसेम्बर 2016
तस्वीर कपीराइट AFP
Image caption अलेप्पोको यो क्षेत्र चार वर्षदेखि विद्रोहीको नियन्त्रणमा थियो

सिरियाली विद्रोहीहरु उनीहरुको नियन्त्रणमा रहेको अलेप्पोको पुरानो शहरबाट बाहिरिँदै आम सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान दिन पाँचदिने युद्धविराम माग गरेका छन्।

ब्रिटेनस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले सिरियाको दोश्रो शहर अलेप्पोमा कैयौंदिनदेखिको भीषण लडाईँपछि विद्रोहीहरु पछाडि हटेको बताएको छ।

राज्यको सञ्चारमाध्यमले सेनाले पुरानो शहर सबै पुननियन्त्रणमा लिएको पुष्टी गरेको छ।

चार वर्षदेखि विद्रोही नियन्त्रणमा रहेको क्षेत्रमा सरकारी फौजले अब पूर्वी अलेप्पोको ७५ प्रतिशतमा नियन्त्रण जमाएको बताइएको छ।

सानो क्षेत्रमा मात्र सीमित हुन पुगेका विद्रोहीहरु हालैका सरकारी कारवाही पछि उक्त क्षेत्रबाट बुधबार बाहिरिएका छन् र दक्षिणतिर उनीहरुको नियन्त्रण भएको क्षेत्रतिर लागेका छन्।

'ठूलो खतरा'

एसओएचआरले भनेको छ गए राती विद्रोही नियन्त्रणमा रहेको दक्षिण पूर्वी क्षेत्रमा भीषण आक्रमण भएको थियो।

सरकारी गोलाबारीमा मंगलबार कम्तिमा १५ जना मारिएको उसले बताएको छ।

तस्वीर कपीराइट AFP
Image caption अलेप्पोको विद्रोही नियन्त्रित क्षेत्रमध्ये दुई तिहाईमा सरकारले पुन नियन्त्रण कायम गरेको छ

विद्रोही नियन्त्रित अन्तिम क्षेत्रमा दशौं हजार सर्वसाधारणहरु फँसेका छन्।

विद्रोहीहरुको संस्था अलेप्पो लीडरशीप काउन्सिलले जारी गरेको विज्ञप्तीमा आम सर्वसाधारणहरु ठूलो खतरामा रहेको र उनीहरुको समस्या सजिलो पार्न जस्तोसुकै कदम समर्थन गर्न तयार रहेको बताइएको छ।

उसले तत्काल पाँचदिने मानवीय युद्ध विराम गर्न राष्ट्रसंघको निगरानीमा करिब पाँचसय घाइतेलाई आपतकालीन उपचार गरिनुपर्ने आम सर्वसाधारणलाई उत्तरी अलेप्पोको ग्रामीणभेगमा उद्दार गर्नुपर्ने र उक्त शहरको भविष्यबारे संझौता गर्नुपर्ने प्रस्ताव गरेको छ।

तस्वीर कपीराइट AFP
Image caption पूर्वी अलेप्पोमा अस्पतालहरु बन्द रहेका छन्

पूर्वी अलेप्पोमा खाद्यान्न घट्दै गएको बताइएको छ। र महिनौं लामो बमबारीका कारण कुनै पनि अस्पताल सञ्चालनमा नरहेको बताइएको छ।

तर सिरिया सरकारले अलेप्पोमा कुनै पनि युद्धविराम गर्न अस्वीकार गरेको छ ।

र रुस तथा चिनले एक हप्ता लामो युद्धविराम गर्ने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावको विरुद्ध भीटो लगाएका थिए।