संसद अवरोध खुलाउन सभामुखको पहल

  • 8 डिसेम्बर 2016
सभामुख घर्ती तस्वीर कपीराइट onsari tweet
Image caption सभामुख घर्तीले एमाले अध्यक्ष र कांग्रेस सभापतिसँग सहमति खोज्न आग्रह गरेकी छन्

राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले दलहरुबीच बढेको चरम ध्रुबीकरण त्यागेर एकठाउँमा उभिन आग्रह गरेको केही दिनमै संसद प्रमुख ओनसरी घर्तीले सहमति खोज्न मुख्य दलका शीर्ष नेतालाई आग्रह गरेकी छन्।

शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्ने बताएकी सभामुख घर्तीले बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेकी थिइन्।

एकहप्ता देखि अवरुद्ध संसद खुलाउन सभामुखले आग्रह गरेपछि एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिइनुपर्ने अडान राखेका थिए।

ओलीलाई दिएको जवाफबारे सभामुख घर्तीले भनिन्, "तपाईँहरुलाई आफ्नो विचार व्यक्त गर्न स्वतन्त्रता छ तर तपाईँहरुले सहमति गर्नै पर्छ। तपाईँहरु बस्नुस, छलफल गर्नुस, वार्ता गर्नुस् र देशलाई अगाडि बढाउनुस भन्ने अनुरोध गरेँ।"

'चुनाव घोषणा'

बिहिबार नै प्रधानमन्त्री प्रचण्डले सुर्खेतमा आयोजित एउटा कार्यक्रममा सीमाङ्कन हेरफेरको प्रस्ताव एमालेको पहिलेको अवधारणा बमोजिम ल्याइएको बताए।

उनले भने, "एमालेले पहिले नै सहमति गरेको प्रस्ताव जसमा सात ठाउँमा एमाले अध्यक्षको हस्ताक्षर छ सरकारलाई आलोचना गर्ने कुनै ठाउँ छैन। आउनोस बसौं सहमति गरौं मैले केही दिन भित्रै समझदारी बनाएर निर्वाचनको मिति र निर्वाचनको घोषणा गर्नेछु।"

तस्वीर कपीराइट pm secretariat
Image caption प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्तावपछि चुनावमा जाने बताएका छन्

तराई केन्द्रित दलहरुको माग सम्बोधन गर्न भन्दै ल्याइएको प्रस्ताव स्वयं तराई केन्द्रित दलहरुले अपर्याप्त भन्दै असन्तुष्टी जाहेर गरेका छन्।

विपक्षीले संसद अवरुद्ध गरेको छ।

प्रस्तावक पार्टीभित्र पनि असन्तुष्टी देखिएको छ।

संशोधन प्रस्तावको संबैधानिकतामाथि प्रश्न उठाउँदै परेको रिटमाथि सर्वोच्च अदालतले बिहीबारदेखि कारवाही अगाडि बढाइसकेको छ।