अख्तियारको विगतका कामप्रति प्रमको असन्तुष्टि

  • 9 डिसेम्बर 2016
प्रम तस्वीर कपीराइट Prachanda's website

प्रधानमन्त्री प्रचण्डले राज्यको एउटा निकायले आफूलाई राज्यभन्दा पनि माथि ठान्ने खतरा रहेको औंल्याउँदै अख्तियारको विगतका कामकारबाहीप्रति सार्वजनिकरुपमै असन्तुष्टि व्यक्त गरेका छन्।

निलम्बनमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीतर्फ इंगित गर्दै प्रधानमन्त्री प्रचण्डले राज्यको एउटा संस्थाले आफैं राज्य भएको ठान्न थालेमा त्यसले विसंगतिहरु निम्त्याउन सक्ने बताए।

भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा अख्तियारका पदाधिकारीहरुले अघिल्लो संविधानमाभन्दा वर्तमान संविधानमा आयोगको अधिकार कटौती गरिएको भन्दै गुनासो गरेका थिए।

सार्वजनिक पद धारणा गरेका व्यक्तिहरुबाट हुने भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको अख्तियारको क्षेत्राधिकारलाई लिएर पटक-पटक बहस हुने गरेको छ।

आरोप

खासगरी अख्तियार प्रमुख कार्की निलम्बनमा पर्नुअघि उक्त बहस निकै चर्केको थियो।

कतिपय सांसदहरुले अख्तियारले क्षेत्राधिकार नाघेर समानान्तर सरकार नै चलाउन थालेको आरोप लगाएका थिए।

भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति प्रणव मुखर्जीसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरिरहेकै बेला पूर्व माओवादी लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचारबारे छानबिन अघि बढाउने अख्तियारको घोषणाको माओवादी केन्द्रका नेताले चर्को आलोचना गरेका थिए।

उक्त पृष्ठभूमिमा प्रधानमन्त्री प्रचण्डले राज्यको एउटा निकाय राज्यभन्दा पनि माथि हुन नसक्ने बताए।

उनले भने, "यो अख्तियारको दुरुपयोग नियन्त्रण गर्ने सन्दर्भमा राज्यद्वारा गठन गरिएको विभागले आफूलाई राज्यभन्दा पनि माथि ठान्न सक्ने खतरा र म नै राज्य हुं भन्ने ठान्यो भने त्यहाँबाट विभिन्न खालका विसंगतिहरुले जन्म लिने खतरा छ।"

दायरा

भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा काठमाण्डूस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले कानुनी दायराभन्दा बाहिर गएर काम गर्न छुट राज्यको कुनै पनि निकायलाई नभएको सन्देश दिन खोजे।

राज्यद्वारा गठित कुनै निकाय वा संस्थाले आफ्नो सीमा नाघेपछि त्यसले निम्त्याउन सक्ने परिणामको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, "औपचारिक संवैधानिक तह एकातिर हुने र काम अर्कातिर हुने खतरा भएको छ कि छैन, भ्रष्टाचार भइराखेको हुन्छ कहीँ कसैको डर थुनछेक केही भएन भने त्यो बेलगाम भएर जान्छ। कहिलेकाहीँ उल्टो स्थिति पनि हुन जाँदोरहेछ। गल्ती नगर्नेहरु आवश्यकताभन्दा बढी डराउनुपर्ने स्थिति भयो भने केही गलत छ भन्ने पनि हुँदोरहेछ।"

राज्यले एउटा जिम्मा लगाइसकेपछि सम्बन्धित निकायलाई काम गर्न नदिने परिपाटी पनि रहेको प्रधानमन्त्रीले बताए।

यद्यपि पूर्व माओवादी लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचार सम्बन्धमा अख्तियारले अनुसन्धान गरिरहेकोबारे उनले केही उल्लेख गरेनन्।