ग्याम्बियाका राष्ट्रपतिद्वारा चुनावी परिणाम अस्वीकार

  • 10 डिसेम्बर 2016
Gambia election तस्वीर कपीराइट Reuters/AFP

'द ग्याम्बिया'का निरंकुश नेता याया जाम्मेले गत साताको राष्ट्रपतीय चुनावमा भएको आफ्नो हारलाई अस्वीकार गरेका छन्।

चुनावी प्रक्रियामा अस्वीकार्य अनियमितता भएको भन्दै सरकारी टेलिभिजनमार्फत उनले नयाँ चुनावका लागि आह्वान पनि गरेका छन्।

२२ वर्षअघि सत्ता हातमा लिए यता उनको सरकारले भ्रष्टाचार गरेको र व्यापक रुपमा मानवअधिकार उल्लंघन गरेको भन्ने आरोप लाग्दै आएको छ।

हार

सन् १९९४ मा 'कु' गरेर सत्तामा पुगेका राष्ट्रपति याया जाम्मेले यो महिनाको शुरुमा भएको राष्ट्रपतीय चुनावमा आश्चर्यजनक रुपमा हार बेहोरेका थिए।

जबकी उनका प्रतिद्वन्द्वी याडमा ब्यारोले ४५ प्रतिशत भन्दा बढी मत जितेका थिए।

जितपछि ब्यारोले 'नयाँ गाम्बिया'को आह्वान गरेका थिए।

शुरुमा मतपरिणाम स्वीकार्ने बताएका जाम्मेले उनकै शब्दमा चुनावको बृहद् अनुसन्धानपछि आफूले चुनावी परिणाम अस्वीकार गर्ने निर्णय गरेको बताएका छन्।

खसेका मतहरुको हिसाब गलत भएको भन्दै आफ्नो प्रारम्भिक मतपरिणामको स्वीकृतिलाई फिर्ता लिएको उनले बताएका हुन्।

उनले चुनावी प्रक्रियाका क्रममा अस्वीकार्य अनियमितताहरु देखिएको प्रति आफ्नो खेद रहेको बताए।

त्यसैले स्वतन्त्र निर्वाचन आयोगले गराउने ताजा र पारदर्शी चुनावका लागि सिफारिस गरेको पनि उनले बताए।

आक्षेप

उनले खासमा आफूले ८७ हजार मतसहित बहुमत ल्याएर जितेको दाबी गरेका छन्।

उनले भने, "म यो स्पष्ट पार्न चाहन्छु। मैले विश्वास सहित मतपरिणाम स्वीकार गरेको थिएँ। आइएसी स्वतन्त्र विश्वसनीय र इमान्दार रहेको ठानेँ। तर म फेरि पनि दोहोर्याउँछु जे भयो त्यसको आधारमा म मतपरिणाम स्वीकार गर्दिनँ।"

२० लाख भन्दा कम जनसंख्या भएको ग्याम्बिया अफ्रिका महादेशको सबैभन्दा सानो देश हो। जहाँ पर्यटन तीब्र रुपमा विकास भइरहेको छ।

दुई दशकभन्दा अघिदेखि सत्तामा रहेका राष्ट्रपति जाम्मेलाई खासगरी उनले जादुटुनाको अभ्यास गर्ने ठानेका आरोपित मानिसहरुलाई दुख दिने गरेको आक्षेप लाग्दै आएको छ।