संविधान संशोधन प्रस्तावबारे मोर्चा 'लचक' हुने संकेत

  • 10 डिसेम्बर 2016

सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गराए लगत्तै यथास्थितिमा संशोधनका पक्षमा उभिन नसक्ने निर्णय गरेको तराई केन्द्रित दलहरुको मोर्चाले करिब दश दिनपछि संशोधन विधेयकको पक्षमा उभिने संकेत देखाएको छ।

शनिबार बसेको मोर्चाको बैठकले आपसी छलफलका आधारमा थप संशोधन भए संविधान संशोधन प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो।

हालै प्रधानमन्त्रीसँगको भेटमा थप संशोधन गर्न सरकार तयार रहेको कुरा आएकाले यस्तो निर्णयमा आफुहरु पुगेको मोर्चाका नेताहरुले बताएका छन्।

राहत

तस्वीर कपीराइट PMO nepal
Image caption सरकारसँग फेरि पनि वार्ताका बस्न आफुहरु तयार रहेको तराई केन्द्रित दलका नेताले बताएका छन्

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेको विरोधका कारण संसदमा छलफल नै हुन सकेको छैन।

तराई केन्द्रित दलहरुको माग बमोजिम भन्दै संसदमा दर्ता गराएको सो विधेयक मधेशी मोर्चाले समेत स्विकार नगरेपछि अन्यौलमा परेको सरकारलाई राहत दिने खालको निर्णय शनिबारको मोर्चा बैठकले गरेको छ।

यस्तो निर्णयमा पुग्नुको कारणबारे मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने "प्रधानमन्त्रीले संशोधनका लागि तयार भएको कुरा गरेपछि, समस्यालाई अल्झाउनेतिर भन्दा पनि लचक बन्नु पर्छ भन्ने धारण हामी भित्र बन्दै आएको थियो, त्यसैको प्रतिफल मोर्चा यस्तो निर्णयमा पुगेको हो।"

संशोधन विधेयकका कुन कुन बुँदामा के के थप संशोधन गर्ने भन्ने बारेमा भने मोर्चा आफ्नो धारणा सार्वजनिक गरेको छैन।

तर सरकारले छलफलमा बोलाए आफुहरु तयार रहेको सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताए।

परिमार्जन

उनले भने "छलफलमा बस्यौँ भने बुँदागत रुपमा सरकारले प्रस्तुत गरेको विधेयकको हरेक विषयमा कसरी परिमार्जन गर्न सकिन्छ भनेर सुझाउन सक्छौं र त्यो बारेमा हामी जहिले पनि तयार छौं।"

मोर्चाको बैठकमा संशोधन विधेयकका बिरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गरेको संसद अवरोध र आन्दोलनको समेत चर्चा भएको बताइएको छ।

एमालेका ती कामको भत्सर्ना गरिएको र संशोधन विधेयकलाई संसदमा छलफल हुने वातावरण बनाउन आग्रह गरिएको संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले बताए।

उनले भने "संसदमा जुन प्रकारको अलोकतान्त्रिक गतिविधि गरिरहेको छ लोकतन्त्रका विरुद्ध जसरी आन्दोलन गर्दै हिडिरहेको छ त्यसको विरोध गरेका हौं।"

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षमा भएको शनिबारको बैठकमा मोर्चामा रहेका ७ दल मध्ये २ दलका मात्रै पार्टी अध्यक्ष सहभागी भएका थिए। अन्य दलले भने आफ्ना दोस्रो तहका नेता पठाएका थिए।

मोर्चाको यो निर्णयपछि संशोधन प्रस्तावलाई जसरी पनि पारित गराउने सरकारको योजनामा मदत पुगेको देखिएको छ भने अहिले नै संशोधनको विपक्षमा रहेको एमाले भने थप संशोधन हुने कुराले झनै आक्रोशित हुनसक्छ।