इस्तानबुल विस्फोट: धेरै प्रहरी अधिकारीको मृत्यु

  • 11 डिसेम्बर 2016
इस्तानबुल तस्वीर कपीराइट Reuters

टर्कीको प्रमुख शहर इस्तानबुलस्थित फुटबल रंगशाला नजिकै भएका दुईवटा बम विस्फोटमा परि कम्तीमा २९ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको खबरहरु आएका छन्।

मृत्यु भएका मध्ये धेरैजसो प्रहरी अधिकारीहरु रहेका छन्।

एउटा आत्मघाती बम र अर्को कार बम हमलाले प्रहरी अधिकारीहरुलाई लक्षित गरेको टर्कीका अधिकारीहरुले बताएका छन्।

टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्रीले उक्त बम हमलालाई एउटा क्रुर घटनाको संज्ञा दिएका छन्।

हमला

इस्तानबुलस्थित बेसिकटस रंगाशालाबाट फुटबलप्रेमीहरु निस्किएको दुई घण्टापछि त्यहाँ नजिकै पहिला बम हमला भएको र लगत्तैपछि गोली चलेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

टर्कीका मुख्य शहरहरुमा हालै भएका हमलाहरुमा दर्जनौं मानिसहरुले ज्यान गुमाइसकेका छन्।

यो पछिल्लो हमला कसले गरेको भन्ने कुनै समूहले बताएका छैनन् तर यो वर्ष टर्कीमा कुर्द लडाकु र इस्लामिक स्टेट भनिने विद्रोही समूहले बम हमलाहरु लहरै गर्दै आएका थिए।

बीबीसी संवाददाता मार्क लोवेनले भने, "कुनै पनि समूहले हमलाको पछाडि आफू रहेको बताएका छैनन्। तर यो वर्ष टर्कीमा श्रृंखलाबद्ध भएका बमबारीहरु कुर्द लडाकु तथा इस्लामिक स्टेट भनिने आइएस समूहले गराएका थिए।"

यो हमलामा टर्कीका प्रहरीहरु मारिएकाले खासगरी टर्कीको सुरक्षा फौजलाई लक्षित गर्ने कुर्द लडाकुहरुले नै गराएको हुन सक्ने आशंका गरिएको छ।

तस्वीर कपीराइट Reuters

निशाना

१६ महिनाअघि युद्धविरामको अन्त्य गरे यता कुर्द विद्रोही समूहले सुरक्षा फौजलाई आफ्नो निशानामा पार्दै आएका छन्।

टर्कीका राष्ट्रपति रजिप तय्यीप एर्दोआनले सुरक्षाकर्मीको मृत्युको पुष्टि गरेका छन् तर घटनाबारे कुनै विस्तृत विवरण दिएका छैनन्।

उनले आफ्ना सुरक्षा फौज र नागरिकविरुद्ध आतंकवादी हमला गरिएको बताएका छन्।

टर्कीका दुईवटा चर्चित फुटबल टोलीबिच भएको खेलपछि विस्फोट गरिएकोले धेरै मानिसहरु मार्न खोजेको बुझ्न सकिने पनि एर्दोआनले बताए।