अलेप्पोमा फसेकाहरुको स्थितीप्रति चिन्ता

  • 13 डिसेम्बर 2016
अलेप्पोबाट भागिरहेका स्थानीयबासिन्दा तस्वीर कपीराइट AFP

संयुक्त राष्ट्रसंघले भनेको छ, सिरियाली सरकार समर्थक सैन्यले पूर्वी अलेप्पोस्थित घरहरुमा प्रवेश गरी महिला तथा बालबालिका सहित त्यहांभित्र रहेका गैरसैनिकहरुको ज्यान लिएका छन्।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले भनेको छ त्यस्तो घटनामा कम्तीमा ८२ जनालाई देख्‍ने वित्तिकै गोली हानेर मारिएका विश्वसनीय प्रमाणहरु आफूलाई प्राप्त भएको छ।

एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघको मानवअधिकार कार्यालयका प्रवक्ता रुपर्ट कोलभिलले भनेका छन्, "पूर्वी अलेप्पोको नर्क समान बन्न पुगेको यो अन्तिम कुनामा फसेर रहेकाहरुको अवस्थाप्रति हामी गहिरो रुपमा चिन्तित छौं।"

सरकारी सैन्यले गोली हानी मारेका भनी बताइएको घटनामा ज्यान गुमाउनेमा ११ जना महिला र १३ जना बालबालिकाहरु रहेका थिए।

त्यहाँ विद्रोहीहरुको नियन्त्रणमा बाँकी रहेको क्षेत्रमा हजारौं मानिसहरु फसेर रहेका बताइएको छ।

सामना

त्यहां सरकारी सैन्य अघि बढ्दै जाँदा त्यसरी फसेका गैरसैनिकहरुले चर्को बम हमलाको सामना गरिरहेका छन्।

सिरिया सरकारको साझेदार रुसले यसअघि बोल्दै विद्रोही सैन्य तर्फ संकेत गर्दै, त्यहाँ अत्याचारका घटनाहरु "आतंकवादी समूहहरुले" नै गराएका बताएको थियो ।

यसैबीच संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले एकजना मेडिकल डक्टरलाई उद्धृत गर्दै, अलेप्पोमा विद्रोहीहरु र सरकारी सैन्यबीच भिडन्त भैरहेको स्थलमा अवस्थित एउटा भवनमा एकसय जना जति बालबालिकाहरु फसेका र तिनीहरुले चर्को हमलाको सामना गर्नु परीरहेको बताएको छ।

पूर्वी अलेप्पोलाई विगत चार बर्षदेखि आफ्नो नियन्त्रणमा राखेका विद्रोहीहरु पराजयको संघारमा पुगेका बताइएको छ।

संख्या

लडाईं चर्कंदै गर्दा घेराबन्दीमा परेका स्थानहरुमा फसेर रहेका मानिसहरुको यकिन संख्या थाहा पाउन गाह्रो छ।

तर अलेप्पो शहरमा फसेकाहरुलाई सकुशल उद्धार गर्ने कार्यका बारेमा जानकार एकजना अमेरिकी अधिकारीका अनुसार त्यसरी फसेका गैरसैनिकहरुको संख्या पचास हजार भन्दा बढी हुन सक्छ।

त्यस्ता केहि मानिसहरुले आफ्ना अन्तिम सन्देशहरु बाहिर पठाइरहेका छन्।

आफूहरु परित्याग गरिएका अपार्टमेन्ट र सडकहरुमा हुल बांधेर बसिरहेका र बम हमला जारी रहंदा आश्रय लिने ठाउं पनि नभएको बताइरहेका छन्।