अलेप्पोमा पुन: उद्धार शुरु

  • 19 डिसेम्बर 2016
अलेप्पो तस्वीर कपीराइट AFP

सिरियाको द्वन्द्वग्रस्त अलेप्पो शहरबाट मानिसहरुलाई उद्धार गर्ने काम पुन: शुरु भएको छ।

संयुक्त राष्ट्रसंघका एक जना अधिकारीका अनुसार पांच वटा बस र एउटा एम्बुलेन्समा करिब ३५० मानिस सरकार नियन्त्रित क्षेत्रमा पुगेका छन्।

अन्य सयौं मानिस उद्धारको प्रतीक्षामा बसिरहेको बताइएको छ।

शर्त

विद्रोहीको घेराबन्दीमा परेको सरकार नियन्त्रित क्षेत्रमा फसेका मानिसहरुलाई उद्धार गर्न गएका बसहरुमाथि श्रृखंलावद्ध आक्रमण भएपछि दुवैतिरबाट भएका उद्धारकार्य स्थगित गरिएको थियो।

पहिले विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रबाट करिब १२ सय मानिसलाई बाहिर निकाल्ने शर्तमा सरकार नियन्त्रित क्षेत्रबाट पनि त्यतिनै मानिसको उद्धार गर्ने सहमति भएको थियो।

पूर्वी अलेप्पो छोड्न बसिरहेका मानिसहरुमध्ये अधिकांश बिरामी र घाइते बालबालिका छन्।

प्रस्ताव

राष्ट्रसंघीय सुरक्षा परिषद्ले पूर्वी अलेप्पोमा भएको उद्धार प्रक्रियाको राष्ट्रसंघले अनुगमन गर्न मिल्ने गरी एउटा प्रस्तावमा सहमति जुटाएको जनाइएको छ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत समान्था पावरले उक्त प्रस्ताव सोमबार सर्वसम्मत अनुमोदन हुने बताइन्।

उनले भनिन्, "हामीसंग हप्तौं समय छैन। मानिसहरु भोका छन्, उनीहरु चीसोमा बस्न बाध्य छन्। धेरैले आफ्नो घर छाडिसकेका छन् र उनीहरुसंग केही पनि सामान छैन। त्यसैले सोमबार नै मतदान गरिहालेर यो विषय टुंग्याउँछौं"।

उक्त प्रस्ताव फ्रान्सले मस्यौदा गरेको हो।

त्यसलाई पहिले अस्वीकार गरेको रुसले भाषामा केही संशोधन गरिएपछि आफू अब सन्तुष्ट भएको बताएको छ।