सभामुखलाई ‘छिट्टै सहमति जुटाउने वचन’

  • 19 डिसेम्बर 2016
सभामुख घर्ती
Image caption दलहरुको विमतिका कारण सभामुखको सक्रियताले अझै मूर्तरुप लिन सकेको छैन।

सभामुख ओनसरी घर्तीले सोमबार बोलाएको छलफलमा निर्वाचन सम्वन्धी विधेयकलाई कार्यसूचीमा राख्न सबै दल तयार भए पनि संशोधन विधेयकका विषयमा भने सहमति जुट्न नसकेको बताइएको छ।

नेकपा एमाले लगायतका विपक्षीदलहरुको अवरोधका कारण लगातार अवरुद्ध हुँदै आएको संसदको बैठक सहमतिका लागि भन्दै तीन दिन पर सारिएको छ।

सरकारले प्रदेशको हेरफेरको प्रस्ताव गर्दै संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको तीन साता पुग्दासम्म संसद बैठक सञ्चालन हुन सकेको छैन।

प्रमुख प्रतिपक्षी नेकपा-एमाले लगायतका विपक्षी दल संशोधन विधेयक फिर्ता लिनु पर्ने अडानमा छन् भने सतारुढ लगायत तराई-केन्द्रित दलहरु संशोधन प्रस्ताव संसदमा छलफल गराउने अडानमा छन्।

छलफल

दुवै पक्षका यस्तै अडानका माझ सभामुख ओनसरी घर्तीले सोमबार प्रमुख तीन दल, नेपाली कांग्रेस, नेकपा-एमाले र नेकपा माओवादी-केन्द्रका नेताहरुसँग छलफल गरेकी हुन्।

सम्भव भएसम्म विषयमा सहमती गर्ने र नभएमा संसदको दैनिक कार्यसूचीमा भए पनि सहमति जुटाउने उनको प्रयास सफल हुन भने सकेन।

केही दिनमा सहमति जुटाउने वचन आफुलाई नेताहरुले दिएको र सोही बमोजिम तीन दिनसम्म आफुले संसद बैठक नबोलाउने निर्णय गरेको सभामुख घर्तीले बताइन।

उनले भनिन्, "उहाँहरुले निर्वाचनको विषयमा विमति नरहेको र 'संशोधन विधेयकका विषयमा छलफल गर्छौं' भन्नु भयो त्यही सहमतिका लागि यो समय दिइएको हो।"

छलफलमा सहभागी माओवादी केन्द्रका नेता समेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले दलहरु बीचको बैठक फेरि बसेर २ दिनभित्र कुनै न कुनै सहमतिमा पुग्ने विश्वास व्यक्त गरे।

त्यसका लागि सरकारका तर्फबाट भेटघाटलाई तीव्र पार्ने बैठकमा सहभागी कानून मन्त्री अजयशंकर नायकको भनाइ छ।

उनले भने, "व्यक्ति-व्यक्ति र पार्टी-पार्टी बीचको छलफल तीव्र पार्छौं। अहिले चाहिएको निर्वाचन हो प्रतिपक्षले पनि त्यसबारे जिम्मेवार भएर सोच्नु पर्छ।"

सोमबार संसदको बैठकको कार्यसूचीमा निर्वाचनसँग सम्बन्धित विधेयकलाई पहिलो प्राथमिकतामा राखेर संशोधन विधेयकलाई दोस्रो र अख्तियार प्रमुखविरुद्धको महाअभियोग प्रस्तावलाई तेस्रो प्राथमिकतामा राखिएको थियो।

अडान

तर नेकपा-एमालेले संशोधन प्रस्ताव फिर्ता लिनु पर्ने अडान दोहोर्यायो।

एमाले उपाध्यक्ष वामदेव गौतमले भने, "संविधान संशोधनको प्रस्ताव पनि जोडेर ल्याउछौं भनेर उहाँहरुले भन्नु भयो। हामीले चुनावको पुच्छर बनाएर ल्याउने कुरामा हाम्रो सहमति छैन भन्यौं।"

संविधान संशोधन प्रस्ताव दर्ता गर्दा संशोधनको समर्थनमा नदेखिका तर विस्तारै लचिलो बन्दै गएका तराई-केन्द्रित दलहरु जस्तै प्रमुख विपक्षी एमाले पनि लचिलो बन्दै जाने अपेक्षा सतारुढ दलहरुको छ।

तर प्रमुख विपक्षी एमाले लगायतका दलहरुको सोमबारको बैठकले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद अवरुद्ध गर्ने र संसद अगाडी बढाउने प्रयास गरिए सशक्त विरोध गर्ने निर्णय गरेका छन्।