'भारतीय भाउका कारण इन्धनको मूल्यवृद्धि'

  • 20 डिसेम्बर 2016
निगम तस्वीर कपीराइट NOC

खुला सिमाना रहेको छिमेकी भारत र नेपालको पेट्रोलियम पदार्थको मूल्यमा रहेको असमानतालाई साघुँरो तुल्याउन इन्धनको मूल्य बढाइएको नेपाल आयल निगमका अधिकारीहरुले बताएका छन्।

खासगरी सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न एलपी ग्यास र हवाई इन्धनबाहेकका इन्धनको मूल्य वृद्धि गरिएको निगमको तर्क छ।

निगमले सरकारी निर्देशन अनुरुप मूल्य वृद्धि गरेको बताएपनि त्यसको विरोध गरिरहेका युवादेखि उपभोक्ता अधिकारवादी संस्थाहरुले उक्त निर्णयलाई जनताप्रतिको सरकारी संवेदनहीनता भनी रोष प्रकट गरिरहेका छन्।

सन्तुलन

निगमका अनुसार छिमेकी भारतकोभन्दा अहिले नेपालमा प्रति लिटर पेट्रोलमा १४ रुपैयाँ र डिजलमा २१ रुपैयाँ सस्तो दर छ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार मूल्य वृद्धि गरिएको निगमको भनाइ छ।

तर खुला सिमाना भएको नेपाल-भारतको पेट्रोलियम पदार्थको मूल्यमा देखिएको भिन्नताका कारण कालो बजारीको सम्भावना अत्याधिक हुने हुनाले मूल्य वृद्धि गरिएको आयल निगमका एक अधिकारीले बताए।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले भने, "हामीलाई अर्थ मन्त्रालय र सरकारबाट सीमावर्ती इलाकाको मूल्यमा धेरै नघट्ने गरी तपाईंहरु कार्य सञ्चालन गर्नु भन्ने निर्देशन छ। तर के भइदियो भने भारतको कर प्रणालीका कारण उताको विक्री मूल्य बढ्यो, हाम्रो कर कम भएकोले विक्री मूल्य कम भयो।"

असन्तुष्टि

आइतबार निगमले पेट्रोल र डिजलमा तथा मट्टितेल प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य बढाएको थियो।

युवा संघ नेपालले निर्णय फिर्ता लिन भन्दै सोमबार आयल निगम घेराउ गरेको थियो।

Image caption नेपालमा भन्दा भारततिर इन्धनको मूल्य बढी छ

मूल्यवृद्धिको असरले अन्य वस्तुहरुको भाउ पनि बढ्ने चिन्ता व्यक्त गर्दै उपभोक्ता अधिकारवादीहरुले सरकारको आलोचना गरेका छन्।

उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, "गाडीको ३५ लिटर र मोटरसाइकलमा १० लिटर तेल हाल्न भारतबाट गाडी आउँछ भन्ने कुरा सुहाउँदो होइन। त्यसैले बढाउनुपर्ने कुनै औचित्य देखिदैंन। पेट्रोलियम पदार्थको मूल्य बढ्नु भनेको पेट्रोलमा मात्र नभएर समग्रमा सबै क्षेत्रको मूल्यवृद्धि हो। सरकारले यस्तो कुरा बुझ्नुपर्नेमा झन् संवेदनहीन देखियो।"

निगमका नायब कार्यकारी निर्देशक साहले भने दुई देशको पेट्रोलियम मूल्यमा सन्तुलन मिलाउन सरकारी तवरबाट ठोस निर्णय गरिनुपर्ने बताउँछन्।