जर्मनीमा ट्युनिशियाली संदिग्धको खोजी

  • 21 डिसेम्बर 2016
ट्रक तस्वीर कपीराइट AFP

जर्मनीमा प्रहरीले एकजना ट्युनिसियाली मानिसको खोजी गरिरहेका छन् जसको परिचयपत्र सोमबार क्रिसमसको बजारमा दौडाईएको लरीको चालक कक्षमा भेटिएको छ।

भीडमाथि जोताईएको लरीको चालक कक्षमा एउटा अस्थायी आवासको अनुमतिपत्र पाईएको छ।

अनिस ए नामका मानिसको त्यो अनुमतिपत्रमा उनी सन् १९९२ मा टाटावीन शहरमा जन्मेको बताईएको छ।

त्यो अनुमतिपत्र जारी गरिएको नर्थ राइन वेस्टफेलिया राज्यमा प्रहरी कारवाही शुरु गरिएको बताईएको छ।

संदिग्ध

केही सञ्चार माध्यमका अनुसार ती संदिग्ध मानिस २१ वा २३ वर्षका छन् र उनले छद्मनामहरु प्रयोग गर्ने गरेका छन्।

सन् २०१२ मा उनी इटली गएका, सन् २०१५ मा जर्मनी गएका र त्यहाँ शरणको लागि निवेदन दिएर आगामी एप्रिल महिना सम्म त्यहाँ बस्ने अनुमति पाएको बताईएको छ।

प्रहरी उनीसंग परिचित भएको र नक्कली परिचयपत्र बोकेकोमा उनलाई अगस्ट महिनामा केही समयका लागि हिरासतमा राखिएको बताईएको छ।

अधिकारीहरुले यी खबरहरुको पुष्टि गरेका छैनन्।

आक्रमण

ब्राइटशाइडप्लाट्जको क्रिस्मस बजारमा त्यो लरी घुस्दा १२ जनाको मृत्यु भएको थियो र ४९ जना घाईते भएका थिए।

लरीलाई भीडमाथि कुदाईंदा लरीका खास चालकले आक्रमणकारीलाई रोक्न खोजेको हुनसक्ने देखिएको छ।

यात्रुको सीटमा पोलण्डका लुकास अर्बन मृत भेटिएका थिए र उनको शरीमा गोली र धारिलो हतियार प्रहार गरिएको निशान देखिन्थ्यो।

त्यस्तो आक्रमण भएपछि पनि अर्बनले लरीको नियन्त्रणका लागि कोशिश गरेको हुनसक्ने जर्मन अनुसन्धानकर्ताले जर्मन समाचार माध्यमलाई बताएका छन्।

गिरफ्तारी

आन्तरिक मामिला मन्त्री टोमस ड मेज्याले जिम्मेवार मानिसलाई चाँडै भेटाउने कुरामा आफु विश्वस्त रहेको बताएका छन्।

जर्मन राष्ट्रपति योआखिम गौकले बुधबार केही घाईतेहरुलाई भेटेका छन्।

अधिकारीहरुले नावेद नामका एकजना पाकिस्तानीलाई घटनास्थलबाट करीब १ किलोमिटर पर गिरफ्तार गरेका थिए।

तर उनी आक्रमणसंग सम्बन्धित भएको कुनै प्रमाण नभेटेको भन्दै अधिकारीहरुले उनलाई मंगलबार रिहा गरेका छन्।

जिम्मा

इस्लामिक स्टेट भनिने समूहले आफ्नो समाचार संस्था अमाकमार्फत आक्रमणको जिम्मा लिएको छ, तर त्यसको कुनै प्रमाण दिएको छैन।

सोमबारको आक्रमण गत जुलाई महिनामा फ्रान्सेली शहर नीसमा गरिएको आक्रमण संग मिल्दोजुल्दो थियो।

त्यो आक्रमणको जिम्मा आइएसले लिएको थियो।

आइएस र अल कायदा दुबैले आफ्ना अनुयायीहरुलाई भीडमाथि आक्रमण गर्नका लागि गाडीहरुको प्रयोग गर्न आह्वान गर्ने गरेका छन्।