‘तत्काल काममा नफर्किए कारबाही’

  • 22 डिसेम्बर 2016
प्राधिकरण
Image caption राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तत्काल काममा नफर्किए प्राविधिकहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।

भूकम्पपछिको पुनर्निर्माणका लागि खटाइएका प्राविधिकहरु तत्काल काममा नफर्किए वैकल्पिक व्यवस्था गरेर अर्को हप्तासम्ममा गाँउमा प्राविधिक पठाइने शहरी विकास मन्त्रीले बताएका छन्।

सामूहिक राजीनामा दिएका प्राविधिकलाई ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने प्रक्रियाको अन्तिम निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकबाट गरिने उनको भनाइ छ।

राजीनामा दिएका प्राविधिकहरुले भने आफ्ना अन्य माग पनि क्रमश: सम्बोधन हुने सुनिश्चित गरिएमात्रै काममा फर्किने बताएका छन्।

चेतावनी

भूकम्पपछिको पुनर्निर्माणको काममा सघाउने भन्दै सरकारले करारमा नियुक्त गरेका प्राविधिकहरुमध्ये करिब १२ सयले मंगलबार सहरी विकास मन्त्रालयमा सामूहिक राजीनामा बुझाएका थिए।

चार बुँदे माग राख्दै विगत १८ दिनदेखि काम ठप्प पार्दै आएका प्राविधिकहरुको अनुपस्थितिमा पुनर्निर्माणको काम प्रभावित भएको बताइएको छ।

माग सम्बोधन गर्न पुनर्निर्माण प्राधिकरण अन्तर्गतको निर्देशन समितिले गरेको निर्णयलाई अन्तिम रुप दिन लागिएको भन्दै तत्काल काममा फर्कन सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले प्राविधिकहरुलाई आग्रह गरेका छन्।

तर काममा फर्कन आनाकानी गरे वैकल्पिक व्यवस्था गरेर गाउँमा प्राविधिकहरु पठाइने उनले बताए।

उनले भने "प्राविधिकहरु तत्कालै फर्कनुपर्छ। एकदुई दिनमै फर्किएनन् भने अर्को हप्तासम्ममा वैकल्पिक व्यवस्था गर्छौं"।

नयाँ नियुक्ति प्रक्रिया गर्दा लाग्ने समयमा जिल्लामा प्राविधिक अभाव नहोस् भन्नेतर्फ ध्यान दिइ हाल खटाइएका इन्जिनियर, सब इन्जिनियर र ओभरसियरहरुलाई नै काममा फर्काउने प्रयत्नमा आफूहरु लागिरहेको मन्त्री केसीको भनाइ छ।

अडान

राजीनामा दिएका काठमाण्डू उपत्यका बाहेकका भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा खटाइएका प्राविधिकहरुले भने आफ्ना सबै माग सम्बोधनको स्पष्ट कार्ययोजनाको माग गरेका छन्।

प्राविधिक आन्दोलन संयोजन समितिका सदस्य हिमाल गिरीले भने, "हाम्रो माग भत्तामात्र थिएन। अन्य माग पनि छन् र क्रमश: यो,यो मितिमा यी माग पूरा गर्छौं भनेर योजना आयो भने हामी काममा फर्किन्छौं।"

सुरक्षा, दुर्गम भत्ता, सम्पर्क कार्यालयको स्थापना लगायतका माग प्राविधिकहरुका छन्।

पुनर्निर्माणको प्रत्यक्ष नेतृत्व गरिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकिएको काममा फर्किन एक विज्ञप्ति मार्फत प्राविधिकहरुलाई निर्देशन समेत दिएको छ।

'सेवा सुविधा दिने गरी सबै प्रक्रिया अघि बढिसकेको अवस्थामा भूकम्पबाट मर्माहत भएका भूकम्प पीडित जनताको संवेदनामाथि खेल्दै पुनर्निर्माणमा अवरोध सिर्जना गरिरहे कानून अनुसार कारबाही' गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ।