'तीन चुनाव एकैसाथ असम्भव'

  • 23 डिसेम्बर 2016
प्रमुख निर्वाचन आयुक्त यादव
Image caption तीन निर्वाचन एकसाथ गराउन कानूनी प्रशासनिक र प्राविधिक कारणले सम्भव नरहेको प्रमुख आयुक्त यादवले बताएका छन्

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले केन्द्र प्रदेशसभा र स्थानीय निकाय तीनथरीको एकसाथ निर्वाचन कुनै हालतमा सम्भव नभएको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले केन्द्र, प्रदेश र स्थानीय निकायको निर्वाचन एक साथ गर्न सकिने शुक्रबार काठमाण्डूमा आयोजित एक कार्यक्रममा बताएपछि प्रमुख आयुक्तले त्यो सम्भव नरहेको बताएका हुन्।

कानूनी, प्राविधिक र प्रशासनिक तीनवटै कारणले एकैपटक तीन निर्वाचन गर्न सम्भव नरहेको प्रमुख आयुक्त यादवको भनाइ छ।

एकपछि अर्को चुनाव गर्न भने आयोग तम्तयार रहेको उनले बताए।

असम्भव

उनले भने, "निर्वाचन आयोग सबै किसिमका निर्वाचन गराउन तयार छ। प्राविधिक प्रशासनिक सबै दृष्टिकोणबाट। तर कानून आएको छैन। सँगै तीनवटा कारण: निर्वाचन, कानूनी, प्रशासनिक र प्राविधिक रुपले एकसाथ गर्न सम्भव छैन।"

तीनवटा चुनाव गर्न तेब्बर मतपेटिका र तीनथरी मतपत्र तथा कानूनपनि तीनथरी आवश्यक पर्दछ।

त्यसैगरी तीनथरी मतपेटिकाको निगरानी, ओसार-पसार र मतदान केन्द्र व्यवस्थापनमा आवश्यक सुरक्षा निकायको व्यवस्था झन बढी कठीन हुने देखिन्छ।

यादवले तीनवटा चुनावका निर्वाचन प्रणाली फरक फरक रहेकाले पनि तीन चुनावहरु एकसाथ गर्न सम्भव नरहेको बताए।

उनले भने, "प्रदेशको र प्रतिनिधि सभाको चुनाव मिश्रित निर्वाचन प्रणालीमा हुन्छ भने गाउँ निकायको निर्वाचन पहिलो हुनेले जित्ने प्रणालीमा हुन्छ। त्यसपछि दलीय व्यवस्थापन मतदाता व्यवस्थापन लगायत धेरै कुरा छन्।"

कतिपय विज्ञहरुले केन्द्र, प्रदेश र स्थानीय निकाय गरी तीनथरि निकायको चुनाव एकसाथ गर्न सम्भव रहेको तर्क पनि गर्ने नगरेका होइनन्।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बुद्धिजीवीको सुझाव भन्दै राजधानीमा आयोजित एक कार्यक्रममा त्यस्तै धारणा राखेका थिए ।

प्रचण्डले भने, "यदि हामीलाई समयको दवाव पर्यो भने मलाई केही बुद्धिजीवीहरुले भन्ने गर्नुभएको छ- तीनवटै निर्वाचन एकैचोटि गर्नपनि सकिन्छ।"

संसदको आयू

संविधानले अहिलेको संसदको आयू २०७४ माघ ७ गते सम्म रहने तोकिदिएको छ।

स्थानीय निकायको चुनाव नभएको सत्र वर्ष पुगेको छ। नयाँ संवैधानिक व्यवस्था अनुरुप प्रदेश सभाको पहिलो निर्वाचनपनि गराउनुछ।

संविधान जारी भएपछि नेताहरु लगातार चुनावको महत्वमाथि जोड दिँदै आएका छन्।

तर सत्ताको खेलमा उनीहरु चुनावको तयारीमा गम्भीर हुन नसकेको आरोप लाग्दै आएको छ।

निर्वाचन गर्ने निकाय निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले तीन चुनाव एकसाथ गर्न असंभव रहेको स्पष्ट शब्दमा उल्लेख गरेपछि अब दलहरुले 'एकसाथ तीन चुनाव' रटान त्यागेर एकपछि अर्को चुनावमा केन्द्रित हुनुपर्ने देखिन्छ।

स्थानीय निकायको चुनाव गर्नुपर्यो भनेर चौतर्फी आवाज उठ्दा जिम्मेवार दलका नेताहरुले चुनाव गरेर प्रजातन्त्र बलियो बनाउनेतर्फ भन्दा आफ्नो पार्टीले जित्ला कि हार्ला भन्ने हेरेर चुनाव घोषणा गर्ने आँट नगरेको आरोप पनि उत्तिकै लाग्ने गरेको छ।