इटली प्रहरी कारबाहीमा आम्रीको मृत्यु

  • 23 डिसेम्बर 2016
आम्री तस्वीर कपीराइट BKA / HANDOUT
Image caption इटालीको प्रहरीले गस्ति गरिरहेका बेला विहान ३ बजेतिर मीलानमा आम्री फेला परेको बताइएको छ।

इटलीको प्रहरीले बर्लीनको क्रिशमस बजारमा १२ जनाको ज्यान जाने गरी भएको ट्रक हमलामा संलग्न भएको आशंका गरिएका अनीस आम्रीलाई गोली हानी मारिदिएका छन्।

इटलीका आन्तरिक मामिला मन्त्री मार्को मीन्नीटीले, सहि व्यक्तिलाई नै निशाना बनाइएकोमा कुनै शंका नभएको बताए।

"प्रहरीले गस्ति गरिरहेका बेला विहान तीन बजेतिर अम्रीलाई फेला पारेका थिए। प्रहरीले परिचयपत्र देखाउन अनुरोध गर्दा उनले हाम्रा प्रहरीलाई गोली हानेपछि प्रहरीले उनलाई गोली हानेको हो।"

मार्को माटीनीको भनाइमा गोली लागेका प्रहरीको अवस्था खतराभन्दा बाहिर रहेको छ।

उनले मारिएका व्यक्तिको औंलाको छाप बर्लीनमा भएको ट्रक हमलाका प्रमुख संदिग्ध आम्रीको औंलाको छापसँग मेल खाएको बताए।

मीलानको प्रतिआतंकवाद प्रहरीका प्रमुखका अनुसार अम्री फ्रान्सबाट इटली पुगेका थिए।

प्रश्नहरु

त्यसबाट युरोपमा सर्वाधीक खोजी गरेका संदिग्ध आतंकवादीले कति सहजै देशका सीमाहरु पार गर्न सके भन्ने विषयमा प्रश्नहरु उठाइदिएको छ।

इस्लामिक स्टेट समुहले सार्वजनिक गरेको एक भीडीयोमा आम्री जिहादी भएको देखाइएको छ।

जर्मनीकी चान्सलर एन्गेला मर्केलले चाहिँ बर्लीनमा भएको आक्रमणपछि सुरक्षा व्यवस्था अझै कडा तुल्याइने बताएकी छिन्।

उनले अनीस आम्रीलाई आक्रमणको योजना बनाउन र भाग्न सहयोग प्राप्त भए नभएको विषयमा प्रश्नहरु उठिरहेको बताइन्।

जर्मनीका आन्तरिक मामिला मन्त्री थोमस डु मेजेरले चाहिँ अब आम्रीको खतरा टरेकोप्रति सन्तोष व्यक्त गरे, तर उनले जर्मनीमा आतंकवादको खतरा उच्च भएको बताए।

अनुसन्धान

ट्युनीसीयाली भनिएका आम्रीलाई रोकेर गोली हान्ने इटालेली प्रहरीको बहादुरीको उनले प्रशंसा गरे।

जर्मनीका संघीय अभियोजनकर्ताले चाहिँ आम्रीलाई आक्रमण गरेर इटली भाग्न सहयोग गर्ने कुनै समूह भए नभएको बारे अनुसन्धान भइरहेको बताएका छन्।

पीटर फ्रयाङ्कले आम्रीले बर्लीन आक्रमणको बेला प्रयोग गरेको हतियार र मीलानमा प्रयोग भएको हतियार एउटै भए नभएकोबारे पनि अनुसन्धान भइरहेको बताए।