अवैध इजरेली बस्ती अन्त्य गर: राष्ट्रसंघ

  • 24 डिसेम्बर 2016
इजरेल

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले गैरकानुनी रुपमा बनाइएको इजरेली बस्ती रोक्न आह्वान गरिएको प्रस्तावलाई पारित गरेको छ।

सुरक्षा परिषदले अधिनस्त प्यालेष्टिनी क्षेत्रमा इजरेली बस्ती बसाउन खोज्नुलाई अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन भनेको छ।

इजरेलको पुरानो समर्थक अमेरिका अनुपस्थित भएपछि सुरक्षा परिषद्ले प्रस्ताव पारित गरेको हो।

निन्दनीय

इजिप्टले तयार गरेको प्रस्तावको मस्यौदामाथि हस्तक्षेप गर्न इजरेलले अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पलाई आग्रह गरेपछि त्यसलाई फिर्ता गरिएको थियो।

तर पछि मलेसिया, न्यूजिल्याण्ड, सेनेगल र भेनेजुएलाले पुन प्रस्ताव गरेका थिए।

अमेरिकाले इजेरललाई उविरुद्धका निन्दनीय प्रस्तावहरुबाट सधैँ जोगाउँदै आएको छ।

इजरेलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहूले संयुक्त राष्ट्रसंघले पारित गरेको प्रस्तावलाई आफूले नमान्ने बताएका छन्।

प्यालेस्टिनी नेतृत्वले भने उक्त प्रस्तावको स्वागत गरेको छ।

तस्वीर कपीराइट AFP

अमेरिका अनुपस्थित रहेपनि बस्ती हटाउने प्रस्तावको पक्षमा बाँकी सबैको सहमति थियो।

प्रतिवाद

ज्यानुअरी २० देखि पदभार सम्हाल्न लागेका अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले प्रस्ताव पारित भएपछि ट्वीट गर्दै, ज्यानुअरी २० पछि संयुक्त राष्ट्रसंघका लागि परिस्थिति फरक हुने बताएका छन्।

इजरेल र प्यालेसटिनिबीच यहुदी बस्तीको विषय एउटा सबैभन्दा विवादास्पद विषय हो जसलाई उनीहरुले शान्तिको बाधकका रुपमा हेर्छन्।

सन् १९६७ यता १४० बस्तीहरु बनेका छन् जसमा करिब ५ लाख यहुदीहरु बस्छन्। अन्तर्राष्ट्रिय कानुन अन्तर्गत उक्त बस्तीलाई गैरकानुनी मानिए पनि इजरेलले भने त्यसको प्रतिवाद गर्छ।

संयुक्त राष्ट्रसंघका लागि इजरेलका राजदूत ड्यानी डेनोनले इजरेलविरुद्धका प्रस्तावको लामो सूचीमा पछिल्लो कदम पनि जोड्न सकिने बताए।

उनले भने, "प्रस्तावको पक्षमा मत हाले पनि खासमा यो मत वार्ता र प्रगतिको विपक्षमा छ। यसले इजरेली र प्यालेस्टीनिको जीवन थप राम्रो बनाउने पक्षमा होइनकी विपक्षमा मत हालेको छ।"

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत समान्था पावरले अमेरिकाले इजरेलको सुरक्षाबारे आफ्नो कट्टर प्रतिबद्धता नत्यागे पनि दुई राष्ट्रको समाधानबारे अमेरिकी नीति अनुरुप कै प्रस्ताव भएको बताइन्।