'राष्ट्रसंघसँगको सम्बन्धमा पुन: समीक्षा'

  • 25 डिसेम्बर 2016
बेन्यामिन तस्वीर कपीराइट Reuters

इजरेलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले संयुक्त राष्ट्रसंघसँगका आफ्ना सबै सम्बन्धबारे एकमहिनाभित्र पुन: मूल्यांकन गर्न विदेशमन्त्रालयलाई निर्देशन दिएका छन्।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अधिनस्थ प्यालेस्टिनी क्षेत्रमा इजरेलले बनाएको बस्ती अन्त्य गर्नुपर्ने प्रस्तावलाई अनुमोदन गरेको भोलिपल्ट नेतान्याहूको यस्तो निर्देशन आएको हो।

आफ्नो पहिलो औपचारिक प्रतिक्रियामा उनले सुरक्षा परिषदको निर्णय पूर्वाग्रही र लज्जास्पद भएको भन्दै समयसँगै उक्त निर्णय खारेज हुने बताएका थिए।

पूर्वाग्रही

संयुक्त राष्ट्रसंघले प्रस्ताव पारित गरेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका नेतान्याहूले इजरेलमा संयुक्त राष्ट्रसंघको उपस्थिति र आफूले उपलब्ध गराउने सहायतालाई पनि समेटेर पुन: समीक्षा गर्न सुझाएका छन्।

संयुक्त राष्ट्रसंघलाई उपलब्ध गराउने सहायता रकमको पुनर्समीक्षा गर्ने र पाँचवटा राष्ट्रसंघीय निकायहरुलाई दिंदै आएको ८० लाख डलर बराबरको रकम कटौती गर्ने बताएका छन्।

उनले ती निकायहरुबारे थप विवरण त दिएनन् तर तिनले आफ्नो देशलाई शत्रुतापूर्ण व्यवहार गरेको आरोप लगाए।

उनले भने, "हिजो संयुक्त राष्ट्रसंघमा इजरेलविरुद्ध लिइएको निर्णय पुरानो विश्वले देखाएको पूर्वाग्रहको हिस्सा थियो। हामी नयाँ युगमा प्रवेश गरिरहेका छौं र हिजो अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले भनेजस्तो यो मानिसले सोचेभन्दा छिटै हुन्छ।"

अमेरिका अनुपस्थित भएपछि संयुक्त राष्ट्रसंघले पारित गरेको नयाँ प्रस्तावलाई इजरेलले लज्जास्पद र पूर्वाग्रही भनेको छ।

प्यालेस्टाइनले भने त्यसलाई अन्तर्राष्ट्रिय कानुनको जित भएको भन्दै स्वागत गरेको थियो।

तस्वीर कपीराइट AFP/GETTY

अस्वीकार

सन् १९६७ को मध्यपूर्व युद्धका बेला इजरेलले कब्जा गरेर बसाएको बस्तीलाई धेरै देशले गैरकानुनी ठान्छन् तर उसले त्यसलाई अस्वीकार गर्छ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत सामन्था पावरले बस्तीको समस्या निकै बिग्रँदै गएको र यसले दुई देशको समाधानका लागि खतरा मोल्दै गएको बताइन्।

नेतान्याहूको आलोचना गर्दै उनले बस्ती विस्तार र दुई देशको समाधानको विषयमाथि एकैपटक जित हाँसिल गर्न खोजेर द्वन्द्व अन्त्य नहुने बताएकी छन्।

यद्यपी उनले प्रस्ताव बस्तीबारेमात्रै संकुचित भएको कारणले अमेरिकाले त्यसमा मत नहालेको बताइन्।

अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले हिजो प्रस्ताव पारित भएपछि, ज्यानुअरी २० मा आफूले पदभार सम्हालेपछि संयुक्त राष्ट्रसंघका लागि परिस्थिति फरक हुने भन्दै ट्वीट गरेका थिए।