बहिरङ्ग सेवा विस्तार: 'कार्यान्वयनमा समस्या'

  • 26 डिसेम्बर 2016
अस्पताल

देशभरका सरकारी अस्पतालहरुमा बहिरङ्ग सेवा विस्तार गर्न दिइएको निर्देशन कार्यान्वयनमा समस्या देखिएको छ।

श्रोत साधनको अभाव भएको भन्दै अधिकांश सरकारी अस्पतालले उक्त सेवा अझै शुरु गर्न नसकेको जनाएका छन्।

सरकारले पुस १ गतेबाट नै केन्द्रीय अस्पतालदेखि स्वास्थ्य चौकीसम्मलाई बेलुका पाँच बजेसम्म बहिरङ्ग सेवा सञ्चालनका लागि पत्रमार्फत निर्देशन दिएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले अस्पतालहरुमा बहिरङ्ग सेवा सुरु भए नभएको अनुगमन गर्ने जनशक्ति मन्त्रालयसँग नभएको प्रतिक्रिया दिएका छन्।

निर्देशन

अधिकांश सरकारी अस्पतालले पुस १ गतेबाट नै उक्त सेवा शुरु नगरेपछि स्वास्थ्य मन्त्रालयले दोस्रोपटक आफू माताहतका अस्पतालहरुलाई निर्देशन दिएको थियो।

मन्त्रालयको निर्देशन अनुसार अझै सेवा विस्तार गरी नसकेको झापा भद्रपुरको मेची अञ्चल अस्पतालका प्रमुख डाक्टर पिताम्बर ठाकुरले बताए।

उनले भने, "अहिलेसम्म हामीले विस्तार गरेका छैनौं, जनशक्ति पनि छैन। चिकित्सकको सुविधाको कुरा पनि छ त्यो मन्त्रालयले उपलब्ध गराउला, हामी निर्देशन पालना गर्न तयार छौं।'

बहिरङ्ग सेवालाई विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म नियमित सञ्चालनको व्यवस्था मिलाउन मन्त्रालयको निर्देशनमा भनिएको थियो।

तस्वीर कपीराइट AP

दुई बजेदेखि कम्तीमा बेलुका पाँच बजेसम्म आकस्मिक स्वास्थ्य सेवा संचालन गर्न पनि मन्त्रालयले भनेको थियो।

अनुगमन

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलका अनुसार मन्त्रालयको निर्देशन पालना भए नभएको अनुगमन फितलो भएका कारण अधिकांश अस्पतालहरुले बहिरङ्ग सेवा विस्तार नगरेका हुन्।

डोटेलले भने, 'अनुगमनका लागि पर्याप्त मानिस परिचालन गर्न सकेका छैनौं। सबै क्षेत्रीय स्वास्थ्य निर्देशनालय तथा जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन गर्नुपर्ने हो। कमी कमजोरी छन्, सच्याएर जानुपर्छ।'

तर चिकित्सकहरुले माग गरे अनुरुपको सेवा सुविधा बृद्धिका लागि मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताए।

तर सर्वसाधारणले आफैंले विस्तार गरेको सेवालाई कार्यान्वयन गर्न नसक्नु मन्त्रालयको कमजोरी भएको बताएका छन्।

तर बहिरङ्ग सेवा विस्तारको निर्देशन कार्यान्वयन नगर्ने अस्पताललाई कारवाही गर्ने चेतावनी भने मन्त्रालयले दिन छाडेको छैन।