मेलम्ची: एउटा महत्वपूर्ण सुरुङ खन्ने काम सकिदैं

  • 28 डिसेम्बर 2016
मेलम्ची

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पहिलो महत्वपूर्ण खण्डको रुपमा रहेको सुन्दरीजल-सिन्धुको सुरुङ खन्ने काम बुधवार पूरा हुने मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरुले बताएका छन्।

तीन खण्डमा विभाजन गरी थालिएको सुरुङ निर्माण अन्तर्गत सुन्दरीजल-सिन्धुको साढे नौ किलोमिटर सुरुङ खन्ने काम पूरा हुन लागेको हो।

दुवैतर्फबाट खन्ने काम भइरहेको र अब १० मिटर सुरुङ खनेपछि पहिलो खण्ड पूरा हुने आयोजनाका अधिकारीहरुले बताएका हुन्।

काठमाण्डू उपत्यकामा पानी वितरण गर्ने राष्ट्रिय गौरवको उक्त आयोजना आगामी दशैँसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।

खुड्किलो

लामो समयदेखि प्रतीक्षा हुंदै आएको मेलम्ची खानेपानी आयोजनाको उक्त खण्ड खुल्नु सफलताको महत्वपूर्ण खुड्किलो भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए।

उनले भने, "एउटा महत्वपूर्ण काम हामीले पूरा गरेका छौं, क्रमश: अरु कार्य पनि पूरा गर्दे जानेछौं, सुरुङको काम सकिएपछि अब भुईंमा कंक्रिट विछ्याउने र गेट बनाउने काम गर्नेछौं जसको लागि धेरै समय लाग्दैन। "

कुल २७ किलोमिटर सुरुङ खन्नुपर्ने मेलम्ची खानेपानी आयोजनामा सिन्धु-ग्यालथुङ र ग्यालथुङ-अम्बाथानको दुई खण्डको काम पूरा हुन बाँकी रहेको बताइएको छ।

अब सुरुङ खन्न बाँकी खण्डको कुल दुरी जम्मा ५ किलोमिटर मात्र रहेको अधिकारीहरुले बताए।

तर सिन्धु-ग्यालथुङको खण्डको सुरुङ मार्गमा भने केही समस्या रहेको कार्यकारी निर्देशक भट्टराईले बताए।

समस्या

उनले भने," सिन्धु खण्डमा पाँच, छ महिनादेखि लगातार कमजोर चट्टान आइरहेको छ, सामान्यतया १०० मिटर वा केही किलोमिटरपछि चट्टानको अवस्था सुधार हुनुपर्ने हो, तर यो खण्डमा त्यो भइरहेको छैन।"

दुई दशक अगाडिदेखि काम थालिएपनि विभिन्न कारणले ढिलो हुंदै आएको मेलम्ची आयोजना अब आगामी दशैं अघि पूरा गर्ने लक्ष्य राखिएको अधिकारीहरुले बताएका छन्।

विभिन्न दातृ निकायको ऋणसहित २३ अर्ब भन्दा बढी लागत रहेको यो आयोजनाबाट काठमाण्डूमा दैनिक १७ करोड लिटर पानी ल्याइने बताइएको छ।