वरिष्ठ लेखक कमलमणि दीक्षितको निधन

  • 29 डिसेम्बर 2016
कमलमणि दीक्षित तस्वीर कपीराइट Madan Puraskar Pustakalaya

नेपाली वाङ्मय र साहित्य इतिहासमा विशिष्ट योगदान पुर्याउने लेखकका रुपमा परिचित कमलमणि दीक्षितको बिहीबार निधन भएको छ।

मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष ८७ वर्षे दीक्षितले केही समययता श्वासप्रश्वाससम्बन्धी समस्याको उपचार गराइरहेका थिए।

बिहीबारै बिहानै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

योगदान

इतिहासकार प्रत्यूष वन्तको हेराइमा, अनुसन्धानकर्ता लेखक र नेपाली भाषाका सामाग्रीको पुस्तकालय स्थापना गर्ने संकलनकर्ताका रुपमा दीक्षितले महत्वपूर्ण योगदान दिएका छन्।

उनले भने, "साहित्यको इतिहास खोतल्न इतिहासकार बाबुराम आचार्यलगायतका व्यक्तिले अपनाएको ढांचा कमलमणि दीक्षितले पनि पछ्याउनुभयो"।

साहित्यतर्फ दीक्षितले खासगरी संस्मरणात्मक निबन्धमा कलम चलाए।

मदन पुरस्कार पुस्तकालयका अनुसार, दीक्षितले छ दर्जनभन्दा बढी पुस्तकको लेखन तथा सम्पादन गरेका छन् र उनका दुई हजारभन्दा धेरै फुटकर रचना प्रकाशित छन्।

भाषा

इतिहासकार वन्तका अनुसार दीक्षितले स्थापना गरेको मदन पुरस्कार पुस्तकालय नेपाली भाषासँग सम्बन्धित सामाग्रीहरुको एउटा विरल संग्रहालय हो।

उनले भने, "नेपाली भाषाका प्रकाशित र अप्रकाशित सामाग्रीहरुको संग्रह गर्ने स्थलमध्ये मदन पुरस्कार पुस्तकालयजस्तो अर्को केन्द्र विश्वमा नै छैन"।

"बीसौं शताब्दी, र एक्काइसौं शताब्दीको पूर्वाद्धरतिरका नेपाली भाषाका सामाग्रीहरु वर्षौको मिहिनेत लगाएर एकैठाउंमा जम्मा पारेर कमलमणि दीक्षितले विशिष्ट योगदान दिनुभएको छ"।

दीक्षितले स्थापना गरेको मदन पुरस्कार गुठीमार्फत नेपाली भाषामा प्रकाशित हुने उत्कृष्ट पुस्तकलाई विक्रम सम्वत् २०१२ यता मदन पुरस्कारबाट सम्मानित गरिदैं आइएको छ।

साथै नेपाली भाषामा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई विक्रम सम्वत् २०४५ यता जगदम्बा-श्री पुरस्कार दिइदैं आइएको छ।