‘सिरियामा युद्धविराम सहमति’

  • 29 डिसेम्बर 2016
सिरिया तस्वीर कपीराइट Reuters

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाली सरकार र सशस्त्र विद्रोही समूहहरु बिहिबार मध्यरातबाट लागू हुने गरी देशभर युद्धविराम गर्न सहमत भएको घोषणा गरेका छ।

टर्कीका विदेशमन्त्रीले त्यसको पुष्टि गरेका छन्।

सिरियाली द्वन्द्वमा विपक्षीहरुलाई सघाउँदै आएका रुस र टर्की युद्धविरामसम्बन्धी समझदारीको जमानी बस्ने भूमिकामा हुनेछन्।

टर्कीका अनुसार हवाई हमलासहित सबै आक्रमणहरु रोकिनेछन्।

यद्यपि युद्धविराम सम्झौतामा केही जिहादी समूहलाई समावेश गरिएको छैन।

समूहहरु

तथाकथित इस्लामिक स्टेट र जब्हात फतेह अल-शाम तथा उनीहरुसँग सम्बद्ध समूहहरुलाई समावेश नगरिएको सिरियाली सेनाले एउटा विज्ञप्तिमार्फत जनाएको छ।

एकजना विपक्षी प्रवक्ताले समझदारीको पुष्टि गरेको छ तर इस्लामिक स्टेट नियन्त्रित क्षेत्रलाई युद्धविरामले नसमेटेको विद्रोही स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोएटर्सले जनाएको छ।

दमास्कस नजिक गर्ने विद्रोही नियन्त्रित पूर्वी गौटा क्षेत्रलाई चाहिँ युद्धविराम सम्झौताले समेटेको बताइएको छ।

यसै महिनाको शुरुतिर मस्को र अंकाराले सिरियाको दोस्रो ठूलो शहर अलेप्पोमा संघर्षविरामका लागि समझदारी गराएका थिए जसका कारण सरकारी फौजले घेराबन्दी गरेका क्षेत्रबाट हजारौं सर्वसाधारण र लडाकुहरुलाई अन्यत्र सार्न सकिएको थियो।

त्यसअघि संयुक्त राष्ट्रसंघको मध्यस्ततामा वा रुस र अमेरिकाको पहलमा गराइएको संघर्षविराम तत्कालै भंग भएको थियो।

टर्कीका विदेशमन्त्रीले सिरियाली समूहमाथि प्रभाव राख्ने सबै पक्षले युद्धविराम सम्झौता मान्नु पर्ने र त्यसलाई सघाउने कार्य महत्वपूर्ण भएको बताएका छन्।