‘अमेरिकी कूटनीतिज्ञलाई निष्कासन गर्दैनौँ’

  • 30 डिसेम्बर 2016
कूटनीतिज्ञ तस्वीर कपीराइट EPA

अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश छाड्न दिएको आदेशको जवाफमा रुसले उसका कूटनीतिज्ञलाई पनि निष्कासन नगर्ने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले आगामी महिना पदभार नगरुञ्जेल रुसले जवाफी कदमका निम्ति कुर्ने पुटिनले बताए।

उनले नयाँ वर्ष मनाउन क्रेम्लिनले मस्कोस्थित अमेरिकी कूटनीतिज्ञहरुका छोराछोरीलाई निम्त्याउने समेत जनाए।

मस्कोले कम्युटरमा अनधिकृत प्रवेश अर्थात् ह्याकिङ्मार्फत अमेरिकी राष्ट्रपतीय चुनाव प्रभावित पारेको आरोप लगाउँदै राष्ट्रपति बराक ओबामाले बिहीबार रुसी कूटनीतिज्ञलाई निष्कासन गर्न आदेश दिएका दिएका थिए।

सुझाव

अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश छाड्न दिएको आदेशको जवाफमा उसका कूटनीतिज्ञलाई पनि निष्कासन गर्न रुसी विदेशमन्त्रीले राष्ट्रपति पुटिनलाई सुझाएका थिए।

क्रेम्लिनले अमेरिकी दाबीको खण्डन गर्दै उसको कदमलाई 'आधारहीन' भनेको छ।

रुसी प्रधानमन्त्री दिमित्रि मेदभेदेभले ओबामा प्रशासनको अवधि 'रुसविरोधी चित्कार'सहित सकिन लागेको प्रतिक्रिया दिएका छन्।

बीबीसीका मस्को संवादादता भन्छन्, पछिल्लो घटनाक्रमले अमेरिकी-रुसी सम्बन्ध थप चिसिएको देखाउँछ। यद्यपि तीन सातापछि पदभार सम्हाल्न लागेका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले सम्बन्ध सुधार गर्ने बताएका छन्।

वाशिङटनस्थित रुसी दूतावासका पाँचजना कूटनीतिज्ञ र सान फ्रान्सिस्कोस्थित उसका कन्सुलेटहरुलाई 'पर्सोना नन ग्राटा' घोषणा गर्दै ७२ घण्टाभित्र देश छाड्न ओबामा प्रशासनले आदेश दिएको थियो।

आरोप

गुप्तचरी सूचना संकलनका लागि रुसले अमेरिकामा प्रयोग गर्दै आएको दुई वटा कम्पाउण्ड पनि बन्द गर्ने निर्णय ओबामाले गरेका छन्।

डेमोक्रेटिक पार्टी र हिलरी क्लिन्टनको चुनावी अभियानमाथि साइबर आक्रमण गर्न रुसले निर्देशन दिएको आरोपमाझ ओबामाले रुसविरुद्ध कदम चाल्ने बताएका थिए।

ओबामाले आउँदो जनवरी २० तारिखमा ट्रम्पलाई पदभार हस्तान्तरण गर्दैछन्।

डेमोक्रेटिक नेशनल कमिटिको सर्भर र हिलरीको चुनावी अभियानका व्यवस्थापका चोरी गरिएका इमेलमा डेमोक्रेटहरुलाई लज्जित तुल्याउने केही सूचनाहरु थिए जुन चुनावी अभियानका क्रममा सार्वजनिक गरिएका थिए।

ट्रम्पले चाहिँ मस्कोले कम्युटरमा अनधिकृत प्रवेश गरेको आरोपलाई 'हास्यास्पद' भन्दै आएका छन्।