भारतमा खानी कामदार अझै बेपत्ता

  • 31 डिसेम्बर 2016
दिवंगत कामदार तस्वीर कपीराइट AFP

पुर्वी भारतको राज्य झारखण्डमा बिहीबार भत्केको एउटा कोइलाखानीबाट १३ जनाको शव निकालिएको छ।

दर्जनौं अझै हराइरहेका छन्।

उद्धारकार्य जारी रहँदा हताश परिवारजन पर्खिरहेका छन्।

खानीबाट दुई जनाको जीवितै उद्धार गरिएको छ।

तर गोद्दा जिल्लाको लालमतिया खानी भत्किँदा त्यसभित्र कम्तिमा ६० जना मानिस थिए।

खराब सुरक्षा

त्यो ठाउँमा सन् २०१२ मा त्यस्तै घटना हुँदा ३ जनाले ज्यान गुमाएका थिए।

इस्टर्न कोलफिल्ड्स लिमिटेडले त्यो घटनापछि त्यो सरकारी स्वामित्वमा रहेको खानी बन्द गरेको थियो तर पछि फेरि खोलेको बताइएको छ।

खानीको खराब सुरक्षा व्यवस्थाका कारण दुर्घटना भएको उद्धारकर्ताहरु बताउँछन्।

अधिकारीहरुले अभियोजन लगाइने सम्भावना रहेको बताएका छन्।

कठिनाइ

राष्ट्रिय विपद व्यवस्थापन निकायका जय प्रकाशले त्यो दुर्घटना प्राकृतिक नभइ मानवजन्य भएको र सुरक्षाको कुनै व्यवस्था नदेखिएको टेलिग्राफ समाचारपत्रलाई बताएका छन्।

बाक्लो कुहिरोले उद्धारकर्ताको काममा अवरोध पुर्याएको छ र उनीहरु शुक्रबार बिहान मात्रै खानीमा प्रवेश गर्न सकेका थिए।

भारतको सबभन्दा विपन्न राज्य मध्ये एक र माओवादी विद्रोहको एक स्थल झारखण्डमा भारतको कोइलाखानी मध्ये करीब २९ प्रतिशत रहेको छ।

सन् २०१५ मा भारतका ५७० वटा खानीमाझ ३८ जनाको मृत्यु भएको थियो।