कार्कीको मुद्दामा ‘बहस सकिँदै’

  • 6 जनवरी 2017
लोकमान सिंह कार्की

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक भएको जिकिर गर्दै दायर रिटमा सर्वोच्च अदालतमा जारी बहस शुक्रबार सकिने सम्भावना अधिकारीहरुले औंल्याएका छन्।

न्यायाधीशहरुको इजलासले बिहीबार कार्कीको पक्षमा बहस गरेका कानुन व्यवसायीलाई शुक्रवार आधा घण्टाभित्र वहस सिध्याउन समय तोकिदिएकाले रिटको टुंगो पनि छिट्टै लाग्ने ठानिएको छ।

अख्तियार प्रमुख कार्की पक्षका कानुन व्यवसायीको बहस बिहीबार नै सक्नुपर्ने थियो।

तर त्यो नसकिएपछि न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले उनीहरुलाई बहस टुंग्याउन शुक्रवार आधा घण्टाको मात्र समय दिएको छ।

प्रक्रिया

सामान्यतया त्यसपछि रिट निवेदकको पक्षको जबाफी बहस सुन्ने प्रचलन छ।

अदालती प्रक्रियाबारे सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले भने,"त्यो बेञ्चको कुरा हो, सम्भवत यो मुद्दाको हकमा आजै (शुक्रबार) बहस सकिन सक्छ, बहस सकियो भने आजै आदेश आउन पनि सक्छ नत्रभने एक दुईदिन पछि आदेश दिने भनेर समय सर्न पनि सक्छ।"

तीन वर्षअघि कार्की अख्तियार प्रमुखमा नियुक्त भएलगत्तै उक्त पदका लागि आवश्यक योग्यता उनीसँग नरहेको दावी सहितको रिट निवेदन दर्ता भएको थियो।

तर एक पटक खारेज गरिएको उक्त रिट दर्ता गर्न अधिवक्ता ओमप्रकाश अर्यालले पुन: पुनरावलोकन निवेदन दिएपछि अघि बढेको यो मुद्दाप्रति सर्वत्र चासो छ।

कार्कीको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्त पनि इजलासले बहसको समय सीमा निर्धारण गरिदिएकाले रिटको छिनोफानो हुन अब समय नलाग्ने ठान्छन्।

स्वार्थ

उनले भने, "निर्णय चाँहि आजै नहोला जस्तो लाग्छ। तर हाम्रो बहसपछि निवेदकहरुको बहस शुरु हुन्छ, उनीहरुको जवाफ सकिएपछि निर्णय गर्नका लागि न्यायाधीशहरुले आफ्नो समय लिन खोजेको हो कि भन्ने आभास चाँहि हुन्छ।"

प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्ताधारी नेकपा माओवादी केन्द्रका सांसदले संसदमा कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन्।

संसद अवरोधका कारण प्रस्ताव अघि बढ्न सकेको छैन्।

संसदमा संख्याको हिसावले महाभियोग पारित गराउन अनिवार्य साथ दिनु पर्ने अवस्थामा रहेको नेपाली कांग्रेस त्यसबारे अझै अनिर्णित छ।

कैयौँले महाभियोग प्रस्तावलाई लिएर संसदमा जारी ढिलासुस्तीलाई यो मुद्दाबारे सर्वोच्च अदालतबाटै पहिला टुङ्गो लागोस् भन्ने प्रमुख राजनीतिक दलहरुको भित्री स्वार्थका रुपमा हेरेका छन्।

अख्तियार प्रमुख कार्कीले ठूला भ्रष्ट्राचारका मुद्दाहरुमा छानविन अघि बढाएपछि आफूलाई निशाना बनाइएको भन्दै उनकै शब्दमा 'भ्रष्ट्राचारीको पोशाक उतार्ने' चेतावनी दिएका थिए।