'संविधान संशोधन पारित हुन दिन्नौं'

  • 6 जनवरी 2017
विपक्षी सभा
Image caption विपक्षीले राजधानीको प्रदर्शनीमार्गमा सभा गरेका थिए

सत्तापक्षले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरुद्ध सदन अवरुद्ध गर्दै आएको मुख्य विपक्षी एमाले सहितका नौ दलले शुक्रबार राजधानी काठमाण्डूमा वृहत् प्रर्दशन गरेका छन्।

दशौं हजार सहभागी रहेको सभालाई सम्बोधन गर्दै ती दलका शीर्ष नेताहरुले कुनै हालतमा संविधान संशोधन प्रस्ताव संसदमा पारित गर्न नदिने बताए।

उनीहरुले संविधान संशोधन 'विदेशीको इशारामा गर्न लागिएको षडयन्त्र' भएको आरोप पनि लगाए।

राजधानीको भृकृटीमण्डपस्थित प्रदर्शनीमार्गमा खचिखचाउ दशौं हजार प्रर्दशनकारीहरुलाई संबोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले संविधान कार्यान्वयन गर्न चुनाव गर्नुपर्नेमा सरकार आयु लम्ब्याउन 'संविधान संशोधन गर्ने अनुचित उद्देश्यमा लागेको' बताए।

राष्ट्रघात

उनले कुनै पनि हालतमा संसदमा उक्त संशोधन प्रस्ताव पारित गर्न नदिने चेतावनी पनि दिए।

उनले भने, "संसदमा हैसियतसाथ एमाले छ। त्यस ठाउँमा राष्ट्रहित विपरितका प्रस्ताव पारित हुन दिइनेछैन।"

आवरणमा संविधान संशोधन देखाएर भित्रभित्रै राष्ट्रघात भइरहेको आरोप ओलीको थियो।

उनले भने, "यो त संविधान संशोधन पो हो देशलाई नोक्सान पार्ने कुरा कहाँ छ यसमा? भन्नुहुन्छ उहाँहरु। तर जुवाडेले कौडा खेलाउँदा कौडा जित्ने हार्ने होइन, सम्पत्तीको हारजित हुन्छ। त्यस्तै संविधान संशोधनका नाममा राष्ट्रियतालाई आघात पार्ने कुरा यसभित्र छ। "

विरोध प्रदर्शनलाई संबोधन गरेका अरु दलका सबैजसो नेताहरुले संविधान संशोधनलाई भारतीय हस्तक्षेपका रुपमा बुझाउने प्रयत्न गरेका थिए।

तिनैमध्ये एक नेकपा मालेका महासचिव सी पी मैनालीले भने, "मंसिर १४ गते राती सबै प्रतिपक्षीहरुलाई छलेर संविधान संशोधन गर्ने विधेयक दर्ता भयो। त्यसका अन्तर्वस्तुहरु राष्ट्रघाती छन्।"

सहमतिको प्रयत्न

संविधान संशोधन गर्न सर्वोच्च अदालतले बाटो खुलाइदिएपछि असन्तुष्ट दलहरुको मोर्चा सत्तापक्ष र विपक्ष सबै सहमतिको प्रयत्नमा रहेको बताइन्छ।

शुक्रबारको भाषणमा एमाले अध्यक्ष ओलीले यसअघि प्रस्ताव संसदमा पेश गर्न नदिने भन्दै आएको भाषा परिवर्तन गरेर पारित हुन नदिने बताएका थिए।

तर विरोध कार्यक्रममा संशोधन प्रस्तावप्रति व्यक्त चर्को आलोचना र उक्त प्रस्ताव कुनै हालतमा पारित गर्न नदिने विपक्षीहरुको अडानले सहमतिको वातावरण बनाउन सहयोग पुर्याउने देखिन्न।