एमाले संशोधन विधेयक रोक्ने मनस्थितिमै

  • 7 जनवरी 2017

प्रमुख प्रतिपक्षी नेकपा एमाले आइतबार डाकिएको संसद् बैठकमा पनि संविधान संशोधन विधेयक अघि बढाउन नदिने मनस्थितिमा देखिएको छ।

उक्त दलको स्थायी कमिटीको बैठकले अन्य विपक्षी दलसँग छलफल गरेर आइतबार नै त्यसबारे टुंगोमा पुग्ने निर्णय गरेको छ।

प्रधानमन्त्री प्रचण्ड भने संसद अवरोध अन्त्य हुने विश्वासमा देखिन्छन्।

सर्वोच्च अदालतले संविधान संशोधन विधेयकविरुद्धको रिटको माग अनुसार अन्तरिम आदेश जारी नगरेपछि संसद अवरोध अन्त्य हुने कतिपयको अनुमान थियो।

सरकारी तयारी

तर त्यस्तो विधेयक सरकारले अघि नबढाओस भन्ने पार्टीको चाहना सुनाउँदै उक्त दलका सचिव प्रदीप ज्ञवालीले भने, "निर्वाचन विधेयक अघि बढाउने गरी कार्यसूची आएमा सदन खुल्छ। तर संशोधन विधेयक नै अघि बढाउन खोजिए त्यति सहज रुपमा अघि बढ्छ जस्तो लाग्दैन।"

सर्वोच्चको आदेशपछि सरकारले नयाँ शिराबाट सहमतिको पहल गर्ने आफूहरुले अपेक्षा गरेको तर सरकारले त्यसतर्फ चासो नदिएको एमालेको आरोप छ।

यस्तो अवस्थमा उसको अवरोध कायमै रहेमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अपेक्षा अनुसार विरोधका माझ विधेयक प्रस्तुत गरिएला वा एमालेले चाहे जस्तो निर्वाचन विधेयक अघि बढाइएला?

एमालेसँग विभिन्न तहमा कुराकानी भइरहेको बताउने सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले भने, "छलफल भइरहेकाले अहिले नै यसो हुन्छ भन्न सकिन्न।"

प्रचण्ड आशा

प्रधानमन्त्री प्रचण्डले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै संसद अवरोध अन्त्य हुने आशा व्यक्त गरेका छन्।

निर्वाचन र संशोधन विधेयक दुबै अघि बढ्ने बताउँदै उनले भने, "मलाई लाग्छ, अब संसद् खुल्छ। सर्वोच्चको आदेशपछि पनि संसद् अवरोध नखोल्ने हो भने त्यसो गर्ने को के लोकतन्त्र हो?"

मंसिरको दोश्रो साता संविधान संशोधन विधेयक प्रस्तुत भएदेखि नै संसद् अवरुद्ध छ।

सर्वोच्च अदालतको आदेशलाई सत्तापक्ष र प्रतिपक्षी दुबैले आआफ्नो अनुकूल अर्थ्याउने गरेका छन्।