आइभरी कोस्टमा विद्रोह फैलँदो

  • 7 जनवरी 2017
लडाकु तस्वीर कपीराइट Reuters

आइभरी कोस्टका सैनिकहरुले गरेको एउटा विद्रोह देशको व्यापारिक केन्द्र अबिजानमा पनि फैलिएको जस्तो देखिएको छ।

त्यहाँ विशेष सेनाको एउटा आधार क्षेत्रबाट गोली चलेको आवाज सुनिएको छ।

शुक्रबार आइभरी कोस्टको दोस्रो ठुलो शहर बुवाकेबाट विद्रोह शुरु भएको थियो।

आइभरी कोस्टमा रहेका बीबीसीका एलेक्स डुभाल स्मिथ भन्छन, विद्रोहले आइभरी कोस्ट को १० वर्ष लामो गृहयुद्धको सम्झना ब्यूँताएको छ।

त्यो गृहयुद्ध सन् २०११ मा अन्त्य भएको थियो।

मागहरु

प्रदर्शनकारीहरुको मागका बारेमा छलफल गर्न रक्षामन्त्री गएका छन्।

उनीहरुका मागहरु तलब र भत्ता सम्बन्धी रहेको बताइएको छ।

सैनिकहरुले प्रत्येकका लागि ८ हजार डलर र एउटा घर मागेको शहरमा रहेका एकजना सांसदले बताएका छन्।

हालसम्म मानवीय क्षतिको जानकारी प्राप्त भएको छैन।

भूतपुर्व लडाकु

शनिबार अबिजान नगरको पुर्वपट्टि रहेको अकुवेदो सैनिक आधार क्षेत्रबाट गोली चलेको आवाज सुनिएको थियो।

त्यहाँ राष्ट्रपति अलास्सान वातारा प्रति वफादार मानिने प्याराशुट कमाण्डोहरु रहेका छन्।

विद्रोहीहरुमध्ये केही द्वन्द्वपछि सेनामा सम्मिलित भएका भूतपूर्व लडाकुहरु भएको ठानिएको छ।

ती लडाकुहरुको आधार क्षेत्र बुवाके थियो।

समाधानको वाचा

सन् २०११ मा तत्कालीन राष्ट्रपति लराँ बाग्बोले निर्वाचनमा आफ्नो पराजय स्वीकार गरेर पदत्याग गर्न नमानिरहेको अवस्थामा विद्रोहीहरुले बुवाकेबाट अबिजान गएर वातारालाई राष्ट्रपति बन्न सहयोग गरेका थिए।

नगर कब्जा गरेका सैनिकहरुलाई भेटिरहेका रक्षामन्त्री अलेइन-रिचर्ड दोनवाहीले स्थितिको समाधान खोज्ने वाचा गरेका छन्।

अरु पनि थुप्रै नगरमा त्यस्तै किसिमका विरोधहरु भएको बताइएको छ।