सैनिक विद्रोह अन्त्य गर्न सम्झौता: वातारा

  • 8 जनवरी 2017
आइभोरी कोष्ट मा विद्रोह तस्वीर कपीराइट AFP
Image caption विद्रोही सैनिकको समूहले केही बेर रक्षामन्त्रीलाई नियन्त्रणमा लिएका छन्

आइभोरी कोष्टका राष्ट्रपति आलासान वाताराले विद्रोहमा उत्रिएका सैनिकसंग सम्झौता भएको बताएका छन्।

तर विद्रोह साम्य भइ शान्ति पुनर्स्थापित भइसकेको हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।

तलब तथा सुविधाबारे तिनको माग विचार गरिने भन्दै उनले तिनलाई ब्यारेकमा फर्कन आग्रह गरेका छन्।

तर केही सैनिकले रक्षा मन्त्रीलाई बुआके शहरमा नियन्त्रण लिए र पछि उनलाई छोडियो।

खासमा रक्षा मन्त्री विद्रोहीहरुसंग वार्ता गर्न आइभोरी कोष्टको दोस्रो ठूलो शहर बुआके पुगेका थिए।

त्यहाँ सेनाको एक समूहले उनलाई घेरेर उनीहरुलाई कति र कहिले पैसा दिइने भनेर सोधपूछ गरे। केही घण्टापश्चात उनलाई त्यहाँबाट जान दिइयो।

तरीका

विद्रोह उक्त शहरबाट शुरु भइ व्यापारिक राजधानी अबिजानमा फैलिएको थियो जहाँ विद्रोहीहरुले सैनिक मुख्यालय नियन्त्रणमा लिए।

त्यसपछि तिनले हावामा गोली चलाएका थिए।

आईतबार जारी एक वक्तव्यमा राष्ट्रपति वाताराले सम्झौता भएको पुष्टी गरे। तर उनले आफ्ना माग प्रस्तुत गर्न विद्रोह गर्ने तरीका ठिक नभएको बताए।

उनले भने, "यसले हाम्रो देशको छविमा आँच पुग्छ। यो सम्झौतापछि म सबै सैनिकलाई ब्यारेकमा फर्कन तथा यी निर्णयहरु शान्तपूर्वक लागु गराउन दिन आग्रह गर्छु।"

आइभोरी कोष्टमा रहेका बीबीसी सम्वाददाता एलेक्स डुभाल स्मिथ भन्छन् यो विद्रोहले सन् २०११ मा समाप्त भएको त्यहाँको १० वर्षे गृहयुद्धको सम्झना गराएको छ।

विद्रोही सैनिकमध्ये केही राष्ट्रिय सेनामा सामेल भएका पूर्व विद्रोही रहेको ठानिएको छ।