गिर्जाघर हमलाकारीलाई मृत्युदण्ड

  • 11 जनवरी 2017
चर्च हमलाकारी तस्वीर कपीराइट AP

अमेरिकाको एउटा जुरीले साउथ क्यारोलाइनास्थित एउटा गिर्जाघरमा प्रार्थना गरिरहेका नौ जना अश्वेत जातिका व्यक्तिहरुको हत्यामा संलग्न एक जना श्वेत अहङ्कारवादी व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ।

डिलन रुफलाई घृणा अपराधसहित ३० भन्दा धेरै कसुरमा अघिल्लो महिना दोषी ठहर्याइएको थियो।

सन् २०१५ को जुनमा रुफले चार्ल्सटन स्थित अफ्रिकी समुदायले प्रार्थना गर्ने गिर्जाघरमा बाइबल पाठ चलिरहेको समयमा अन्धाधुन्ध गोली चलाएका थिए।

जुरी सामू आफ्ना अन्तिम धारणा राख्ने क्रममा उनले पश्चतापको कुनै संकेत दिएनन् र ती हत्या गरेर आफूले ठीक गरेको बताएका थिए।

अपराध

सन् २०१५ को जुनमा चार्ल्सटन स्थित इमान्युएल अफ्रिकन गिर्जाघरभित्र प्रवेश गरेका डिलन रुफले साँझको बाइबल पाठ समारोहमा भाग लिएका थिए।

तर जसै प्रार्थना गरिरहँदा सबैले आँखा बन्द गरे, उनले सानो बन्दुक निकाले र गोली हानेर नौ जनाको हत्या गरे।

प्रार्थना गर्ने र शान्ति हुने ठानिएको ठाउँमा भएको उक्त हिंसाले अमेरिकाभर सनसनी नै मच्चाएको थियो।

तस्वीर कपीराइट Reuters

अश्वेत जातिले निकै ऐतिहासिक मान्ने गिर्जाघरमा यो घटना भएको थियो।

अश्वेत अधिकारका लागि भएका आन्दोलनको महत्वपूर्ण केन्द्रका रुपमा चार्ल्सटनको गिर्जाघरलाई हेरिन्छ।

उक्त गिर्जाघर भएको स्थान दशकौँ पहिले आफ्ना मालिकबाट भागेका दासहरुले सुरक्षित स्थानमा जान प्रयोग गर्ने भूमिगत मार्गको एउटा मुख्य बिसौनी रहेको थियो।

रप्प्रमुख मार्गका रुपमा प्रयोग गर्थे।

बहस

उक्त हत्याले अमेरिकामा जातीय सम्बन्धबारेको विवादलाई थप चर्काएको थियो र राष्ट्रपति ओबामाले बन्दुकको प्रयोगबाट हुने हिंसा नियन्त्रण गर्न आग्रह गरेका थिए।

रुफ घृणा अपराधमा मृत्युदण्डको सजाय पाउने पहिलो व्यक्ति बनेका छन्।

एक जना पीडितका आफन्तले उक्त सजायलाई 'खोक्रो न्याय' भनेका छन्।