'अमेरिकी सैनिक परिचालन खतरनाक'

  • 12 जनवरी 2017
पोलण्ड तस्वीर कपीराइट Reuters

रुसले पोलण्डमा ठूलो स्तरमा सेना र ट्यांक तैनाथ गरिनु आफ्नो राष्ट्रिय सुरक्षाका निम्ति खतरा भएको प्रतिक्रिया दिएको छ।

क्रेम्लिनका प्रवक्ता दिमित्रि पेस्कोभले युरोपेली मुलुक समेत नरहेको तेस्रो देशको संलग्नताले पनि उक्त कदम रुसी हित विपरीत भएको बताएका छन्।

हजारौंका संख्यामा अमेरिकी सेना, ट्यांक तथा बख्तरबन्द गाडीहरु उत्तर एट्लान्टिक सन्धि संगठन-नेटोको पूर्वी सिमानामा तैनाथ गरिएका छन्।

नेटोका प्रमुख येन्स स्टोल्टेनबेर्गले रुसबाट आफूले कुनै सम्भावित जोखिम नदेखेको बताएका छन् तर उनले थप दृढ देखिएको रुसले क्राइमियामा जस्तै बल प्रयोग गर्न सक्ने देखिएको चेतावनी दिए।

सैन्य

रुसका अनुसार ३ हजारभन्दा बढी संख्यामा अमेरिकी सेना पोलण्ड पुगेको देखिएको छ।

आक्रामक रुसप्रति नेटोका साझेदार मुलुकहरुको चिन्तालाई सम्बोधन गर्ने अमेरिकी राष्ट्रपति बराक ओबामाको प्रतिबद्धता अनुरुप अमेरिकी सेना पोलण्डमा खटाइएको हो।

अमेरिकाले युरोपमा केही दशकयता आफ्नो सेनाको उपस्थिति बढाएको यो एउटा ठूलो घटना भएको बताइएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले अमेरिकी कदम 'रुसी स्वार्थ र राष्ट्रिय सुरक्षाका निम्ति खतरा' भएको बीबीसीलाई बताए।

उनले भने, "हाम्रो युरोपेली सिमानामा आफ्नो सैन्य उपस्थिति बढाइरहेको त्यो तेस्रो मुलुक हो, त्यो युरोपेली मुलुक पनि होइन।"

योजना

८० वटाभन्दा बढी अमेरिकी ट्यांक र सयौं संख्यामा बख्तरबन्द गाडीहरु जर्मनी पुगिसकेका छन् र तिनीहरुहरुलाई सडक र रेलमार्गबाट पूर्वी युरोप पुर्याइँदैछ।

अमेरिकी बख्तरबन्द ब्रिगेडले बाल्टिक्समा सैन्य अभ्यास गर्नेछ, जुन युक्रेनमा रुसले गरेको अतिक्रमणको जवाफ पनि हो।

हरेक नौ महिनामा सेना अदलीबदली गर्ने अमेरिकी योजना छ।

मस्कोसँग सम्बन्ध सुधार्ने बताउँदै आएका अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले पदभार सम्हाल्नु केही दिनअघि मात्रै पोलण्डमा अमेरिकी सेना खटाइएको हो।