उच्च अदालतमा न्यायाधीशहरु सिफारिस

  • 12 जनवरी 2017
सर्वोच्च अदालत

बिहीबार रातीसम्म बसेको न्याय परिषदको बैठकले उच्च अदालतका न्यायाधीशहरुको नियुक्ति सिफारिस गरेको कानुन मन्त्रीको सचिवालयले बीबीसीलाई बताएको छ।

सिफारिस गरिएका न्यायाधीशहरुको नाम सार्वजनिक भैसकेको छैन।

करिब ८० जना न्यायाधीश नियुक्तिको सिफारिस गरिएको र विस्तृत जानकारी पछि मात्र दिइने न्याय परिषदका प्रवक्ता कृष्ण गिरीले बताएका छन्।

वरिष्ठतम न्यायाधीशको हैसियतमा परिषद् सदस्य रहेका बैद्यनाथ उपाध्यायले शुक्रबारदेखि अवकाश पाउने भएकाले बिहीबार अबेरसम्म भए पनि नियुक्ति गर्ने प्रयत्न भइरहेको बताइएको थियो।

संघीय प्रदेशको अवधारणा अनुसार गठन भएका उच्च अदालतमा ठूलो संख्यामा न्यायाधीश नियुक्त गरिने भएकाले तारन्तार हुँदै आएको न्यायपरिषद् बैठकप्रति धेरैको चासो रहेको थियो।

छलफल

यसअघि नेपाल बार एसोसियसनको तर्फबाट परिषद्मा प्रतिनिधित्व गर्ने सदस्य रामप्रसाद सिटौलाले बिहीबार छलफल नटुँगिएको जनाएका थिए।

प्रधानन्यायाधीश नेतृत्वको परिषद्मा सिटौलाका अतिरिक्त वरिष्ठतम् न्यायाधीश उपाध्याय, माओवादीबाट कानुनमन्त्री नियुक्त अजयशंकर नायक र प्रचण्ड नेतृत्वको सरकारद्वारा मनोनीत माओवादी निकट कानुन व्यवसायी पदम वैदिक सदस्य छन्।

न्यायाधीश उपाध्यायले शुक्रबार अवकाश पाउने भएकाले प्रधानन्यायाधीश सुशीला कार्की अबेरसम्म भए पनि न्यायाधीश नियुक्त गर्ने पक्षमा रहेको बताइएको थियो।

अवकाश

पहिलो महिला प्रधानन्यायाधीश बन्न सफल कार्की कानुन व्यवसायीबाट सिधै सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएकाले त्यसअघि प्रधानन्यायाधीश बन्ने वरियतामा रहेका वैद्यनाथ उपाध्याय वरिष्ठतम न्यायाधीशबाटै अवकाश पाउन लागेका हुन्।

उपाध्यायको अवकाशपछि गोपाल पराजुली वरिष्ठतम न्यायाधीशको हैसियतले परिषद् सदस्य हुनेछन्।

पराजुलीसँगको आफ्नो सम्बन्धमा चिसोपन रहेको भन्ने समाचारका माझ प्रधानन्यायाधीश कार्कीले परिषद्मा उनको प्रवेश अघि नै नियुक्तिको टुंगो लगाउन चाहेको कतिपयको विश्लेषण छ।