पद नसम्हालेसम्म ब्यारो सेनेगलमा बस्ने

  • 15 जनवरी 2017
गाम्बिया तस्वीर कपीराइट Reuters

द गाम्बियाका राष्ट्रपति निर्वाचित अडामा ब्यारोले पदभार ग्रहण नगरुञ्जेल उनलाई आफ्नो देशमा राख्न सेनेगलका राष्ट्रपति मकी साल सहमत भएका छन्।

बहालवाला राष्ट्रपति याह्य जाम्मेले गत महिनाको निर्वाचनमा आफू पराजित भएको अस्वीकार गर्दै आएका छन्।

लाइबेरियाली नेता एलेन जोनसनको आग्रहमा द गाम्बियाका राष्ट्रपति निर्वाचित ब्यारोलाई आफ्नो देशमा राख्न सेनेगलका राष्ट्रपति राजी भएका हुन्।

मालीमा अफ्रिकी मुलुकका राष्ट्रप्रमुखहरुको एउटा सम्मेलनपछि त्यस्तो सहमति भएको हो।

समर्थन

उक्त सम्मेलनमा अफिक्री नेताहरुले राष्ट्रपति निर्वाचित ब्यारोप्रति समर्थन जनाएका थिए।

अफिक्री क्षेत्रीय संगठन इकोवासले आफ्नो कार्यकाल सकिएपछि जाम्मेले पद त्याग नगरे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएको छ।

शुरुमा जाम्मेले निर्वाचनमा हार स्वीकारे पनि पछि सर्वोच्च अदालतले मे महिनामा आफ्नो मुद्दा टुंगो नलगाउञ्जेल सत्ता नछाड्ने बताएका छन्।

इकोवासले बिहीबार राष्ट्रपति निर्वाचित ब्यारोको पदभार ग्रहणमा कुनै अवरोध खडा गरिए आफ्नो सैन्य हस्तक्षेपलाई संयुक्त राष्ट्रसंघले अनुमोदन गर्नुपर्ने चाहेको छ।

अफ्रिकी नेताहरुले कार्यकाल सकेपछि स्वेच्छिक रुपमा सत्ता त्याग्न शनिबार पनि जाम्मेलाई आह्वान गरेका छन्।

मान्यता

बिहीबार जाम्मेको कार्यकाल सकिंदैछ।

यसअघि उनलाई पद त्याग गराउनका निम्ति गरिएको वार्ता प्रयास विफल भएको थियो।

अफ्रिकी संघले कार्यकाल सकेपछि जाम्मेले मान्यता नपाउने बताइसकेको छ।

५५ वर्षीय जाम्मेले सन् १९९४ मा सत्ता हत्याएका थिए।

नियमित निर्वाचन गराउँदै आएपनि मानव अधिकार उल्लंघन गर्दै आएको उनीमाथि आरोप छ।

द गाम्बियामा पछिल्लो राजनीतिक अन्योलसँगै हजारौँ मानिसहरु सेनेगल र गिनी बिसौ पुगेका छन्।