विमान दुर्घटनामा कम्तीमा ३७ को मृत्यु

  • 16 जनवरी 2017
गाउँ तस्वीर कपीराइट Reuters

टर्कीको एउटा कार्गो विमान कर्गिस्तानको मुख्य विमानस्थल नजिकैको एउटा आवास क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।

स्थानीय अधिकारीहरुका अनुसार दुर्घटनामा कम्तीमा ३७ जनाको ज्यान गएको छ।

राजधानी बिश्केक नजिकैको गाउँमा दुर्घटनाग्रस्त विमानका ठूला-ठूला भग्नावशेषहरु छरपस्ट भएका थिए।

कुहिरो लागेको बेला अवतरण गर्ने क्रममा राजधानी बिश्केकस्थित मानास विमानस्थल नजिकैको एउटा गाउँमा विमान दुर्घटनाग्रस्त भएको थियो।

बालबालिका

धेरै स्थानीयबासिन्दाहरु सुतिरहेका बेला विमान दुर्घटना भएको थियो।

विमानस्थलमा अरु विमानहरु सुरक्षित रुपमा अवतरण गरेको भन्दै कर्गिस्तानका उपप्रधानमन्त्रीले मुखामेतकाली अबुल्गाजियेभले टर्कीको कार्गो विमान दुर्घटनामा पाइलटको गल्ती हुन सक्ने बताएका छन्।

तर दुर्घटनाका बेला देख्न सक्ने अवस्था कमजोर रहेको बताइएको छ।

अधिकारीहरुले दुर्घटनामा ज्यान गुमाएका मानिसहरुको सम्झनामा मंगलबार एकदिने शोकको घोषणा गरेका छन्।

हंगकंगबाट उडेको कार्गो विमान कर्गिज्स्तानको राजधानी बिश्केकस्थित मानास विमानस्थल नजिकैको एउटा गाउँमा विमान दुर्घटनाग्रस्त भएको थियो।

रनवेको पुछारमा

इस्तानबुल जाने क्रममा उक्त विमान मानास विमास्थलमा अवतरण गर्नुपर्ने थियो।

उक्त विमान टर्किश कार्गो क्यारियर एक्टको थियो जसले माइकार्गो नाममा उडान भर्ने गर्दथ्यो।

एउटा विज्ञप्तिमा उसले भनेको छ, "हंगकंगबाट इस्तानबुलका लागि उडेको हाम्रो टीसी-एमसिएल परिचय भएको विमान बिश्केक विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेको पुछारमा अज्ञात कारणले दुर्घटनाग्रस्त भएको छ।"

उक्त कम्पनीले दुर्घटनाबारे अझै 'स्पष्ट जानकारी' प्राप्त गर्न बाँकी रहेको जनाएको छ।

विमानस्थल नजिकैको छुट्टी मनाउन लोकप्रिय डाचा-सु गाउँमा स्थानीय समय अनुसार बिहान साढे ७ बजे विमान दुर्घटना भएको थियो।

दुर्घटनाग्रस्त कार्गो विमान १४ वर्ष पुरानो भएको समाचारमा जनाइएको छ।

एकजना प्रत्यक्षदर्शीले समाचार संस्था एएफपीलाई भने, "विमान घरहरुमाथि दुर्घटनाग्रस्त भयो। घरभित्रका सबै मानिसहरु मारिए। घरको केही बाँकी रहेन। कतिपय मानिसहरु सुतिरहेका थिए।"