‘ब्रिटेनले इयुको एकल बजारको सदस्यता नलिने’

  • 17 जनवरी 2017
टरिजा तस्वीर कपीराइट PA

ब्रिटेनले युरोपेली संघको सदस्यता परित्याग गर्दा इयुको एकल बजारको सदस्यता पनि नलिने ब्रिटिश प्रधानमन्त्री टरीजा मेले बताएकी छन्।

तर उनले इयुसँग करमुक्त व्यापार भने गर्न चाहेको बताइन्।

एउटा बहुप्रतीक्षित भाषणमा प्रधानमन्त्री मेले अन्य सदस्य राष्ट्रहरुलाई बाहिरिनबाट रोक्ने प्रयासमा इयुले ब्रिटेनसँग दण्डात्मक व्यवहार गर्न खोजेमा त्यो उक्त गठबन्धनका लागि आत्मघाती हुने भन्दै सावधान पनि गराएकी छन्।

मेले भनेकी छन्, इयुको एकल बजारको सदस्यता लिनु भनेको इयुको नियमहरुलाई मान्नुपर्ने तर त्यस्ता नियमहरु तर्जुमा गर्नमा भने आफ्नो कुनै भूमिका नरहने अवस्थालाई स्वीकार्नु हो।

परित्याग

प्रधानमन्त्री मेका अनुसार युरोपेली एकल बजारमा रहिरहनु भन्नुको अर्थ इयु परित्याग नगर्नु नै हो।

तर उनले युरोपेली देशहरुसँग सम्भवभएसम्मको खुला व्यापार सम्झौताका लागि प्रयास गर्ने र विश्वका अन्य देशहरुसँग पनि नयाँ व्यापार सम्झौता गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

युके र इयुबीच हुने अन्तिम सहमतिमाथि ब्रिटेनको संसद्ले मतदान गर्न पाउने पनि प्रधानमन्त्री मेले घोषणा गरेकी छन्।

आउँदो मार्च महिनाको अन्त्यसम्ममा युरोपेली संघबाट बाहिरिनका लागि ब्रिटेनले लिस्बन सन्धिको धारा ५० लाई सक्रिय तुल्याउनुअघि बुँदा बुँदामा मोलमोलाइ नगरिने उनको भनाई थियो।

उनले इयु र एकल युरोपेली बजारलाई आफूले कम आंक्न नखोजेको भन्दै ब्रिटेन युरोपेली संघबाट बाहिरिएपछि त्यसप्रति दण्डात्मक प्रतिक्रिया नजाउन उक्त गठबन्धनलाई सचेत गराइन्।

खुलस्त

त्यस्तो कार्यबाट युरोपका देशहरुलाई आत्मघाती प्रकारको क्षति हुने र त्यो मित्रतापूर्ण व्यवहार पनि नहुने ब्रिटिश प्रधानमन्त्रीको भनाई थियो।

बीबीसीकी राजनीतिक सम्पादक लोरा कून्सबर्ग भन्छिन्, ब्रिटेन इयुबाट बाहिरिने पक्षमा जनमत संग्रहको नतिजा आएयता प्रधानमन्त्री र उनका मन्त्रीहरु यस्तरी खुलस्त कहिल्यै भएका थिएनन् र मंगलबार प्रधानमन्त्रीको भाषणाबाट स्पष्ट भएको छ कि ब्रिटेन अब इयुबाट पूर्णरुपमा बाहिरिनेछ।

मध्य लण्डनमा आयोजित एक समारोहमा दिइएको भाषणका क्रममा प्रधानमन्त्री मेले वरिष्ठ मन्त्री र विदेशी राजदूतहरु समेत संलग्न स्रोता समूहलाई सम्बोधन गर्दै संयुक्त अधिराज्यले आफ्नो देशको उज्ज्वल भविष्यका लागि जनमत संग्रहमा मतदान गरेको र इयुबाट बाहिरिएपछि देश अझ बलियो, निष्पक्ष र अझ बढी एकताबद्ध हुने दावी पनि गरिन्।

इयुबाट अलग भएपछि त्यहाँबाट ब्रिटेन आउने मानिसहरुको संख्यालाई नियन्त्रण गर्न पाइने बताउँदै प्रधानमन्त्री मेले युकेले इयुमा गर्दै आएको 'ठूलो योगदानको पनि अन्त्य हुने' बताइन्।