ओबामाद्वारा म्यानिङको जेलसजायमा कटौती

  • 18 जनवरी 2017
चेल्सी तस्वीर कपीराइट AFP

अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो गोप्य सूचना चुहाएको अभियोगमा दोषी ठहरिएकी एकजना अमेरिकी सैनिकको बाँकी जेल सजायलाई घटाइदिएका छन्।

२९ वर्षीय ट्रान्सजेन्डर अमेरीकी सैनिक चेल्सी म्यानिङले सन् २०१० मा विकिलिक्सलाई गोप्य सूचनाहरु चुहाएकी थिइन्।

झण्डै साढे सातलाख संवेदनशील सैन्य र कुटनीतिक सूचनाहरु विकिलिक्स वेबसाइटलाई दिएको आरोपमा उनी सन् २०१३ मा दोषी ठहरिएकी थिइन्।

चुहावट

पहिला ब्र्याड्ले म्यानिङको रुपमा चिनिने गरेकी चेल्सी म्यानिङलाई ३५ वर्षको जेल सजाय सुनाइएको थियो।

यो अमेरिकी इतिहासमा गोप्य सामग्रीहरुको चुहावट भएको एउटा ठूलो घटना थियो।

ह्वाइट हाउसले हालैका दिनमा म्यानिङको जेल सजाय घटाउनका लागि आफू खुल्ला रहेको बताउँदै आएको थियो।

उनलाई आउँदो मे महिनामा रिहा गरिने बताइएको छ।

तस्वीर कपीराइट Reuters

विरोध

म्यानिङले गत वर्ष क्यान्जसस्थित पुरुषहरु रहने सैन्य कारागारमा दुईपटक आत्महत्याको प्रयास गरेकी थिइन्।

उनी गत वर्ष नै भोकहड्तालमा पनि उत्रिएकी थिइन्।

पछि सेनाले उनलाई लैंगिक कारणले हुने मानसिक रोगको उपचार गर्न दिने सहमति गरेपछि उनले उक्त भोकहड्ताल तोडेकी थिइन्।

राष्ट्रपतिका रुपमा आफ्ना अन्तिम कामहरु अन्तर्गत ओबामाले २०९ जनाको जेल सजाय घटाइदिएका छन् भने अन्य ६४ जनालाई माफी दिएका छन्।