पश्चिम अफ्रिकी देशका सुरक्षा फौज द ग्याम्बिया प्रवेश

  • 20 जनवरी 2017
ग्याम्बिया तस्वीर कपीराइट AFP

द ग्याम्बियाको नयाँ राष्ट्रपति पदमा शपथ लिएका याड्मा ब्यारोको समर्थनमा सेनेगलका फौज द ग्याम्बियाको सीमाभित्र प्रवेश गरेका छन्।

खबरहरुका अनुसार संयुक्त राष्ट्रसंघले समर्थन गरेको उक्त क्षेत्रिय फौजले प्रतिरोधको सामना गर्नुपरेको थिएन।

पश्चिम अफ्रिकी क्षेत्रिय समूह इकोवासले गत महिनाको राष्ट्रपतीय चुनावमा हार बेहोरेका याया जाम्मेलाई कार्यभार छाड्नका लागि शुक्रबार दिउँसो १२ बजेसम्मको समय दिएको छ।

इकोवासले जाम्मेले पद छाड्न नमाने बल प्रयोग गरेर पनि हटाउने चेतावनी दिएको छ।

आदेश

पूर्व राष्ट्रपति याया जाम्मेलाई सत्ता छाड्ने अन्तिम अवसर दिनका लागि द ग्याम्बिया प्रवेश गरेका फौजलाई अघि बढ्नबाट केही बेर रोक्किन आदेश दिइएको बताइएको छ।

१५ सदस्यीय संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले इकोवासलाई आफ्नो समर्थन दिए पनि पहिला राजनीतिक समाधानकै प्रयास हुनुपर्नेमा जोड दिएको छ।

यसअघि मरिससका राष्ट्रपति र जाम्मेबीचको वार्ता विफल भएपछि बिहीबार मध्यरातसम्म कार्यालय छाड्न दिइएको समयासीमा सकिएको थियो।

त्यसपछि शुक्रबारको समयसीमाभित्र उनलाई कार्यालयबाट हटाउने प्रयासको मध्यस्थता गिनीका राष्ट्रपति याल्फा कोन्डेले गर्नेछन्।

बीबीसी संवाददाता उमारु फोफानाले भने, "ग्याम्बिया सेनाका जनरल उसमान बाजी नयाँ राष्ट्रपति याड्मा ब्यारोको समर्थनमा सडकमा नाचिरहेका सर्वसाधारणसँगै सहभागी भएका छन्।"

तस्वीर कपीराइट Getty Images

समर्थन

चुनावमा पराजित याया जाम्मेले पद नत्यागेपछि ब्यारोले बिहीबार सेनेगलको राजधानी डाकारस्थित द ग्याम्बियाको दूतावासमा शपथ लिएका थिए।

पद नछाड्ने जाम्मेको अडानलाई द ग्याम्बियाको संसदले चाहिँ समर्थन गरेको छ।

सेनेगलमा रहेका ब्यारोले देशमा सैन्य कारवाही अन्त्य नहुँदासम्म आफू राजधानी बान्जुल नफर्कने बताएका छन्।

हप्तौसम्मको अस्थीरताका कारण ग्याम्बियाका हजारौं जनताले सेनेगलमा शरण लिइरहेका छन् भने समूद्री किनारहरुका कारण युरोपेलीहरुमाझ चर्चित रहेको ग्याम्बियामा रहेका पर्यटकहरु घुम्ने समय छोट्याएर घर फर्किएका छन्।