ट्रम्पको शपथग्रहण बारे जान्नुस

  • 20 जनवरी 2017
शपथग्रहणको मार्गचित्र

डोनल्ड ट्रम्पले बराक ओबामालाई विस्थापित गर्ने क्षणमा विश्वको नजर अमेरिकी क्यापिटोलमा हुनेछ।

अमेरिकी राष्ट्रपतिय पथग्रहण भनेको के हो ?

प्रत्येक चार बर्षमा निर्वाचित हुने अमेरिकाका नयाँ राष्ट्रपतिलाई त्यहाँका प्रधान न्यायाधीशले संविधानको प्रावधान अनुसार २० ज्यानुअरीको दिउँसो (१७:०० जिएमटी) शपथग्रहण गराउँछन्।

क्यापिटोल भवन परिसरमा हुने उक्त भव्य शपथग्रहण कार्यक्रम शान्तिपूर्ण रुपले सत्ता हस्तान्तरण गर्ने समारोहको एक हिस्सा हो।

त्यहाँ को को हुनेछन्?

सो समारोहमा भागलिन ओबामा र उनकी पत्नी ट्रम्पसँगै एउटा सवारीमा क्यापिटोल भवन तर्फ जानेछन् जहाँ उनीहरुले कंग्रेस सदस्यहरु, राजनीतिज्ञ र समर्थकहलाई भेट्नेछन्।

समारोहमा पूर्व राष्ट्रपति बिल क्लिनटन र ट्रम्पसँग चुनाव हारेकी क्लिन्टन पत्नी हिलरी क्लिन्टन पनि सहभागी हुने अपेक्षा गरिएको छ।

भूतपूर्व राष्ट्रपति जर्ज डब्लु बुस र उनकी पत्नी लाउरा र जिम्मी कार्टर यस अघि नै समारोहमा उपस्थित हुने पुष्टि गरिसकेका छन्।

जर्ज एच डब्लु बुसले भने श्वासप्रस्वास सम्बन्धि समस्याका कारण आफु उपस्थित हुन नसक्ने पत्र मार्फत जानकारी गराएका छन्।

झण्डै ८ देखि ९ लाख मानिसले उक्त सत्ता हस्तान्तरण समारोह प्रत्यक्ष रुपमा हेर्ने अपेक्षा गरिएको छ।

को को सहभागी हुने छैनन्?

नव निर्वाचित राष्ट्रपति ट्रम्प र नागरिक अधिकारकर्मीहरुको विवादका बीच कंग्रेसका करिब ५० भन्दा बढि डेमोक्रेटिक सदस्यहरुले सार्वजनिक रुपमै सो समारोहमा उपस्थित नहुने जनाएका छन्।

अधिकारकर्मी तथा कंग्रेस सदस्य जोन लुइस पनि सो समारोहमा अनुपस्थित रहने छन्।

केहि सदस्यहरुले भने सपथग्रहणको भोलिपल्ट वासिङ्गटनमा विरोध स्वरुप आयोजना गरिने 'महिलाहरुको मार्च'मा सहभागी हुने जनाएका छन्।

विरोध प्रदर्शन केका लागि?

साताको अन्त्यतिर शहरको आसपास ट्रम्पको समर्थन र विरोधमा कैयौं प्रदर्शनहरु हुनेछन्।

सम्भवत: 'महिलाहरुको मार्च'ले करिब २ लाख प्रदर्शनकारीको भीड जम्मा पार्ने छ।

सो प्रदर्शनमा ट्रम्प शासनकालमा चुनौती भोग्ने आंकलन गरिएका - जातीय र लैंङ्गिक समानता, सहज स्वास्थोपचार, गर्भपतन सम्बन्धि अधिकार र मताधिकार - लगायतका विषयहरुलाई प्राथमिकताका साथ उठाईने छ।

ट्रम्पले कसरी जीतको खुशियाली मनाउँदै छन् ?

तस्वीर कपीराइट Reuters

शपथ ग्रहणका दुई दिन सम्म ट्रम्पले मर्मोन टेबरनेकल, रेडियो सिटी रकेट्स, थ्रि डोर्स डाउन, जस्ता सांगीतिक समूह, प्रसिद्ध कलाकारहरु टोवी किथ र लि ग्रिनउड, लगायतका कलाकारको गीत संगित र नृत्यका प्रस्तुतिमा रमाउने तालिका बनाएका छन्।

उक्त कार्यक्रममा ट्रम्प समर्थक आयोजकहरुले चर्चित मनोरञ्जनकर्मीहरुलाई सहभागि गराउन नसकेको बताइएको छ। केही कलाकारहरुले उनीहरुको प्रस्तावलाई ठाडै अस्विकार गरेको वुझिएको छ।

ट्रम्पले कहिले देखि काम थाल्ने छन् ?

४५ औं राष्ट्रपतिले 'प्रथम दिन' मै ओबामाले अनुसरण गरेका नीति नियमहरु फिर्ता गर्ने छन्, तर उनले सो कदम शुक्रवार शुरु गर्ने हुन् वा सोमवार भन्ने बारे यकीन भैनसकेको बताइएको छ।

ट्रम्पका प्रवक्ता शन स्पाइसरले समाचार माध्यममा जनाए अनुसार सपथग्रहणकै दिन शुक्रवार नै ट्रम्पले चार पाँच वटा कार्यकारी कार्वाही अगाडी बढाउन सक्ने छन्।

तर लण्डन टाइम्सलाई दिएको अन्तरवार्तामा ट्रम्पले सोमबार मात्रै उनको 'पहिलो दिन' शुरु हुने बताएका छन् ।