संसद खुले पनि विधेयक अझै अन्योलमा

  • 20 जनवरी 2017

संसदमा उत्पन्न अवरोध लामो समयपछि खुले पनि निर्वाचन र संविधान संशोधन सम्बन्धि विधेयक यथास्थितिमै रोकिएका छन्।

संसदको अवरोध अन्त्य भए पनि प्रमुख दलबीच राजनीतिक असहमति कायमै रहेकाले ती विधेयक अन्योलमा परेका हुन्।

विपक्षी अवरोधका माझ पुषको अन्तिम साता संसदमा पेश दुईथरी विधेयक दुई परस्पर विरोधी राजनीतिक अडानको चेपुवाबाट मुक्त भएको देखिन्न।

एक सातापछि शुक्रबार बसेको संसद बैठकमा प्रमुख दलका नेताले दिएका अभिव्यक्तिमा पनि असहमति झल्किन्थ्यो।

चुनौती

सरकारलाई समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन विधेयक रोकेर चुनाव सम्भव नहुने बताउने गरेको छ।

तर उक्त विधेयक अघि बढाउँदा एमालेले अवरोध गर्ने सम्भावना छ।

संसद बैठकमा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले चुनौती दिँदै भने, "संविधानले सदनबाट संशोधन हुने कुरा सुनिश्चित गरेको छ। सदनले गर्न पाउँदैन भन्न मिल्दैन।"

उनले चुनाव घोषणा गरिनु पर्ने मत पनि राखेका थिए।

प्रश्न

संशोधन विधेयकअघि बढ्न नसके चुनावलाई प्राथमिकता दिनु पर्ने पक्षमा रहेका भनिने कांग्रेस नेता रामचन्द्र पौडेलले त स्थानीय चुनावमा विशेष जोड दिए।

उनले भने, "स्थानीय तहको होस् वा निकायको चुनाव पहिलो आवश्यकता हो। अनि एकै पटक संसदको चुनाव गर्न पनि मिल्दैन।"

संशोधनको विपक्षमा रहेको एमाले निर्वाचन विधेयक अघि बढाउन दिने पक्षमा छ।

स्वयं सत्तापक्षकै सांसदले चुनावको पक्षमा बोल्दा एमाले नेता भीम रावलको प्रश्न थियो, "निर्वाचनको मिति घोषणा गर्न सरकारलाई कसले रोक्यो? विपक्षीले रोक्यो कि कुनै अदृश्य शक्तिले?"

मनस्थिति

दलहरुबीच सहमति हुने आशा गरेर सभामुखले संसद बैठक एक सातापछि शुक्रबार राखेको उनी निकट सूत्रको भनाइ छ।

सभामुखले अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठकमा संशोधन विधेयक अघि बढाउने कुरा नराखेको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बताए।

उनले भने, "संशोधन विधेयक अघि बढाउँदा अवरोध उत्पन्न हुनसक्ने भएकाले त्यसको किनारा दलहरुले नै लगाउन् भन्ने सभामुखको चाहना हुनसक्छ।"

तर संशोधन विधेयक यथास्थितिमै राखेर एमालेले भन्दै आए जस्तो निर्वाचन विधेयक अघि बढाउँदा मोर्चा टाढिने आशंका सत्तापक्षलाई हुनुपर्छ।

तर वैशाख-जेठमा चुनाव गर्न कानुन पारित गर्ने समय भने घर्किँदै गएको छ।