युरोपमा चरम दक्षिणपन्थी भेला

  • 21 जनवरी 2017
एक नेतासंग मरीन ले पेन तस्वीर कपीराइट Reuters

युरोपका चरम दक्षिणपन्थी पार्टीहरुका नेता जर्मन शहर कोब्लेन्ट्समा भेट्दैछन्।

उनीहरुकै शब्दमा युरोपमा 'नव राष्ट्रवाद' को उदयको उनीहरु स्वागत गर्दैछन्।

तर अभियानकर्ताहरुले ऐतिहासिक तानाशाहहरुको तस्वीर बोकेर उनीहरुको विरोध गरेका छन्।

फ्रेञ्च न्याशनल फ्रन्टकी मरीन ले पेन, डच राजनीतिज्ञ हीअर्ट वाइल्डर्स र जर्मनीको आप्रवास विरोधी पार्टी एएफडीका प्रमुख सो सम्मेलनमा उपस्थित छन्।

राष्ट्रवाद

भेलालाई सम्बोधन गर्दै मरीन ले पेनले इयु छोड्ने ब्रिटेनको निर्णयले युरोपभर त्यस्ता कदमलाई प्रेरित गर्ने बताइन्।

ले पेनले राष्ट्रवाद विगतको होइन भविष्यको नीति भएको बताइन्।

पुरानो सामाजिक व्यवस्थालाई त्यो कदमले धक्का दिएको भन्दै उनले ब्रिटेनको बहिर्गमनलाई शक्तिशाली समूह विरुद्ध सार्वभौम जनताको कदम भनिन्।

डोनल्ड ट्रम्प अमेरिकामा राष्ट्रपति निर्वाचित भएपछि त्यो पुरानो व्यवस्था अझ कमजोर भएको भनेर उनले भन्दा धेरैले ताली पिटेर स्वागत गरेका थिए।

समर्थन

द नेदर्ल्याण्ड्सका हीअर्ट वाइल्डर्स्ले पनि उनको समर्थन गर्दै राष्ट्रवादको युग शुरु हुन लागेको बताए।

तर क्रिस्चियन डेमोक्रेटिक दलका एल्मर ब्रोकले भने चरम दक्षिणपन्थीहरु उनकै शब्दमा युरोपप्रतिको घृणाका कारण मात्रै एकताबद्ध भएका बताएका छन्।

फ्रान्स, द नेदर्ल्याण्ड्स र जर्मनीमा महत्वपुर्ण निर्वाचन हुनुअघि त्यस्तो सम्मेलन भएको हो।

चुनावमा ती चरम दक्षीणपन्थी दलहरुले आफ्नो स्थिति अझ बलियो बनाउने अपेक्षा गरिरहेक छन्।

विरोध

तस्वीर कपीराइट Reuters

तर उनीहरुको सम्मेलन विरुद्ध हजारौंले प्रदर्शन पनि गरेका छन्।

प्रदर्शनका आयोजक पास्कल फोलेनवाइडरले ती चरम दक्षिणफन्थीलाई हिटलर, मुसोलिनी, र फ्रांको जस्ता तानाशाहले स्वागत गरेको बताए।

त्यस्तो स्वागत मार्फत पुरै विश्वले नै उनीहरुका पुराना र तानाशाही विचारहरुको विरोध गरेको र आफुहरुले उनीहरुलाई रोक्ने उद्देश्य राखेको कडा सन्देश ती नेताहरुलाई दिएको फोलेनवाइडरले बताए।