'चुनावको मिति घोषणा गर्ने सहमति'

  • 21 जनवरी 2017
संसद भवन

सत्ता र विपक्षका प्रमुख तीन दलबीच स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्ने सहमति भएको नेताहरुले जनाएका छन्।

संसदमा संविधान संशोधन र निर्वाचन सम्बन्धि विधेयक अघि बढ्न नसकेका बेला प्रधानमन्त्री प्रचण्डले तीन दलका प्रमुख नेताको बैठक राखेका थिए।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको कुराकानीपछि चुनाव घोषणाको टुंगोमा पुग्ने सहमति भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले बताए।

उनले भने, "निर्वाचनको मिति घोषणा र त्यसमा कसरी समझदारी गर्ने भन्नेबारेमा कुराकानी हुँदा करिब करिब सहमति भएको छ। मधेशी मोर्चासँग कुरा गरेर टुंग्याउने कुरा भएको छ।"

निचोड

उनका अनुसार प्रधानमन्त्रीले मिति प्रस्ताव नगरे पनि स्थानीय तहको चुनाव आउँदा वैशाखको अन्तिम साता गर्ने कुरा राखेका थिए।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले छिटोभन्दा छिटो चुनाव गर्ने कुरामा सैद्धान्तिक सहमति भएको बताए।

तर निर्वाचनको मार्ग प्रसस्त गर्ने व्यवहारिक कुरामा अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाई छ।

संसदमा प्रस्तुत संविधान संशोधन विधेयकलाई त्यसको उदाहरणको रुपमा पेश गर्ने उनले भने, "हामीले संशोधन विधेयक फिर्ता लिनु नै सबैभन्दा उपयुक्त हुन्छ भन्ने कुरा राख्यौं, उहाँहरुले अरु कुनै बीचको बाटो हुनसक्छ कि भन्ने कुरा उठाउनु भयो। हामीले त्यसको प्रक्रियाबारे जिज्ञासा राखे पनि निचोडमा पुगिएको छैन।"

तयारी

मधेशी मोर्चासँग प्रधानमन्त्रीले छलफल गरेर चुनावको मिति घोषणा गर्नेबारे पुन: प्रमुख दलसँग परामर्श गर्ने बताइएको छ।

त्यसको अर्थ प्रधानमन्त्री संविधान संशोधन विधेयकलाई प्रक्रियामा लग्नु अघि चुनावको मिति घोषणा गर्ने तयारीमा लागेका हुन्?

प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार खनालले त्यसको टुंगो लाग्न बाँकी रहेको बताए।

तर मोर्चाले संशोधनको छिनोफानो नहुँदासम्म चुनाव हुन नदिने चेतावनी दिने गरेको छ भने एमाले संसदमा विधेयकमाथि छलफल हुन नदिने अडानमै देखिन्छ।