सञ्चार माध्यमहरु ट्रम्पसंग रुष्ट

  • 22 जनवरी 2017
भीडको तुलनात्मक तस्वीर तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो शपथग्रहणमा उपस्थित मानिसका बारेमा गलत खबर प्रकाशित गरेको भन्दै सञ्चारमाध्यमहरु बेइमान भएको टिप्पणी गरेपछि सञ्चार माध्यमहरु रुष्ट बनेका छन्।

उनीभन्दा अघिका राष्ट्रपति बराक ओबामाको शपथग्रहणमा बढी मानिस उपस्थित थिए भन्ने देखाउने तस्विर प्रकाशित भएपछि उनले त्यसो भनेका हुन्।

त्यो पुष्टि गर्न सञ्चार माध्यमहरुले माथिबाट खिचिएका तस्विरहरु देखाएका छन्।

तर ट्रम्पले भने कम्तिमा १० लाख मानिस आफ्नो शपथग्रहण समारोहमा उपस्थित भएको दावी गरेका छन्।

तुलना

ट्रम्पका प्रेस सचिव शन स्पाइसरले ट्रम्पको शपथग्रहणमा इतिहासमै सबभन्दा धेरै मानिस आएको दावी गरे।

जबकी उनले दिएको तथ्य जोड्दा ७ लाख ५० हजार मानिस मात्रै त्यहाँ उपस्थित भएको बुझिन्छ।

बराक ओबामाको शपथग्रहणमा सन् २००९ मा १८ लाख र सन् २०१३ मा १० लाख मानिस उपस्थित भएको अधिकारीहरु बताउँछन्।

सन् २००५ मा जर्ज डब्लु बुशको शपथग्रहणमा ४ लाख र सन् १९९३ मा बिल क्लिन्टनको शपथग्रहणमा ८ लाख उपस्थित भएको बताइएको छ।

रोष

सञ्चार माध्यमप्रतिको आफ्नो नकारात्मक धारणा दोहोर्याउँदै राष्ट्रपतिले पत्रकारहरु संसारकै सबभन्दा बेइमान मानिस भएको बताए।

प्रतिक्रियामा मुख्य अमेरिकी सञ्चार माध्यमले राष्ट्रपति र उनका प्रवक्ताका दावीलाई ठाडै अस्विकार गरेका छन्।

न्यू योर्क टाइम्सले ती दावीलाई गलत भन्दै निन्दा गरेको छ।

एबीसी न्यूजले पनि विस्तृत विवरणका साथ ती दावीको खण्डन गरेको छ।

खण्डन

सीएनएनले स्पाइसरको टिप्पणी प्रसारण पनि गरेन।

सही खबर प्रकाशित गर्दा पनि प्रेस सचिवले सञ्चार माध्यमलाई आक्रमण गरेको भन्दै सीएनएनले आक्रोशित प्रतिक्रिया दिएको छ।

ट्रम्पको समर्थक फक्स न्यूजले कुनै चुनौती बिना ती दावीहरुलाई प्रसारण गरेको छ।

बजफीड न्यूजले स्पाइसरलाई झुटो बोलेको आरोप लगाएको छ र उनका टिप्पणीको मजाक उडाउँदै मानिसले बनाएका चित्रहरु प्रकाशित गरेको छ।

विश्लेषण

वाशिंग्टनबाट बीबीसी न्यूजका डेभिड विलिस भन्छन्, ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा शन स्पाइसरको सञ्चार माध्यममाथिको आक्रमण अभूतपुर्व हो।

उनले सञ्चार माध्यमलाई बेइमानीको आरोप लगाउँदै उनीहरुलाई जवाफदेही चेतावनी दिएका छन्।

उनको चेतावनीको आशय स्पष्ट छैन तर ह्वाइट हाउसका बारेमा लामो समयदेखि समाचार संकलन गर्दै आएका पत्रकारहरुलाई भने त्यसले चिन्तित बनाएको छ।

पत्रकार वा समाचार कुन चाहींलाई नयाँ प्रशासनले बढी मन नपराउने भन्ने प्रश्न उठेको छ।