द गाम्बियाको राज्यकोषबाट 'ठूलो रकम गायब'

  • 23 जनवरी 2017
ब्यारो तस्वीर कपीराइट Reuters

द गाम्बियाका राष्ट्रपति याडमा ब्यारोका विशेष सल्लाहकारले राज्यकोषबाट १ करोड १० लाख डलर गायब भएको बताएका छन्।

२२ वर्ष शासन गरेका पूर्व राष्ट्रपति याया जाम्मे सत्ताबाट बाहिरिएसँगै राज्यकोषको अवस्थाबारे यो भनाई बाहिर आएको हो।

शनिबार राति जाम्मेले देश छोड्दै गर्दा निकै आरामदायी कार र अन्य सामानहरु मालबाहक विमानमा हालेको देखिएको थियो।

अनुसन्धान

माइ अहमत फ्याट्टीले सेनेगलको राजधानी डाकरमा सञ्चारकर्मीहरुसँग बोल्दै अर्थविदहरुले घाटाबारे यकिन विवरण निकाल्नका लागि काम गरिरहेको बताए।

उनले द गाम्बियाको राज्यकोष लगभग खाली रहेर त्यसले आर्थिक संकट ल्याएको बताएका छन्।

नयाँ राष्ट्रपतिका निकट सहयोगीले पूर्व राष्ट्रपति जाम्मेले पछिल्लो दुई सातामा मात्रै राज्यकोषबाट १ करोड ११ लाख डलर गायब पारेको बताएका हुन्।

उनले यो दाबीलाई आफूहरुले स्वतन्त्र रुपले प्रमाणित गर्न नसकेकोले राष्ट्रपति ब्यारोले अर्थविद र केन्द्रिय बैंकका अधिकारीहरुसँग यथार्थ रकम पत्ता लगाउन काम गरेको बताए।

तस्वीर कपीराइट Reuters

आरोप

उनले पूर्वराष्ट्रपति जाम्मेले सुविधायुक्त र आरामदायी सामानका लागि जथाभावी खर्च गरेको आरोप लगाए।

जाम्मेले सत्ता छोडेर देशबाट बाहिरिँदा पनि सुविधायुक्त कारहरु र अन्य सामानहरु कार्गो विमानमा हालेको देखिएको थियो।

राष्ट्रपति ब्यारो भने सेनेगलमै छन् र उनी कहिले गाम्बियास्थित राष्ट्रपति कार्यालयमा फर्कन्छन् भन्ने स्पष्ट भइसकेको छैन।

आइतबार राति सयौं मानिसहरु बान्जुलस्थित राष्ट्रपति भवनको बाहिर भेला भएका थिए। जहाँ सेनेगलका सुरक्षाकर्मीहरु राष्ट्रपति ब्यारोको फिर्तीका लागि भवनको सुरक्षा प्रवन्ध गर्न आएका थिए।