अनुदानका लागि आवेदन भर्नेको संख्या निकै कम

  • 24 जनवरी 2017
भूकम्प

घर बनाउने प्राविधिकहरुको अभाव र कतिपय भूकम्प पीडितहरुमा दोस्रो किस्ता आउने सुनिश्चितता जस्ता विषयमा देखिएको अन्योलका कारण अनुमान विपरित दोस्रो किस्ताको अनुदान रकम ‍लिन आउनेहरुको संख्या ज्यादै न्यून देखिएको राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले बताएको छ।

घर निर्माणका लागि अनुदानको पहिलो किस्ता साढे चार लाख लाभग्राहीले लिइसक्दा दोस्रो किस्ताको निवेदन दिनेको संख्या भने २५ हजार पनि नपुगेको शहरी विकास मन्त्रालयले जनाएको छ।

तर शहरी विकास मन्त्रालय भन्छ थुप्रै जिल्लाका अझै पनि घर बनाउने विषयमा भूकम्प पीडितमा जागरण पुगेको छैन।

आवेदन

घरको जग भूकम्प प्रतिरोधी बनाएपछि मात्रै सरकारले दिने अनुदानको दोस्रो किस्ता रकमका लागि आवेदन दिन सकिन्छ।

तर पहिलो किस्ता बुझेका कतिपयले अझै घर निर्माण नथालेको वा कतिपयले सरकारले तोके बमोजिमको मापदण्ड नपुर्याएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भर्खरै गरेको अनुगमनमा देखिएको प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

प्राधिकरणका प्रवक्ता भीष्म कुमार भुसालले भने, "पहिलो कुरा त गाँउमा पर्याप्त मात्रामा निर्माणकर्मीहरुकै अभाव देखियो। त्यसले गर्दा एकैचोटी घर बनाउने अवस्था पातलै देखियो। दोस्रो कुरा बिचमा इन्जिनियरहरुले गरेको आन्दोलनले पनि प्रभाव परेको देखियो। तेस्रो कुरा चाहिँ दोस्रो किस्ता आउने निश्चित भएपछि घर बनाउन शुरु गरौंला भन्ने किसिमको मानसिकता पनि ठाँउ ठाँउमा देखियो।"

प्राधिकरणले गत हप्तादेखि दोस्रो किस्ता वापतको १ लाख ५० हजार रुपैँया लिन लाभग्राहीलाई आह्वान गरेको थियो।

तर एकहप्ताको बिचमा साढे २४ हजार लाभग्राहीले मात्र दोस्रो किस्ताको लागि आवेदन दिएका छन्।

मापदण्ड

शहरी विकास मन्त्रालयले भने घर बन्ने कार्य सोचेजस्तो तीब्र गतिमा नभए पनि आगामी दिनमा आवेदन दिनेहरुको संख्या भने ह्वात्तै बढ्ने बताएको छ।

मन्त्रालयबाट खटिएका इन्जिनियरहरुका अनुसार बनेका घरहरु भने मापदण्ड भित्र रहेको छ।

दोलखामा कार्यरत सब इन्जिनियर पुण्यप्रसाद रिमालले भने, "गाँउमा चाहिँ के भइरहेको छ भने एक तल्ला मापदण्ड अनुरुप नै घर बन्यो। अनि माथिल्लो तल्ला लोड पनि कम गर्नलाई जस्ताको बार लगाइयो। अनि जस्ताको छाना लाउने भन्ने घर अत्याधिक बनेको छ। मोटामोटी चाहिँ ७५ प्रतिशत घर चाहिँ मापदण्ड अनुरुपकै छन्। त्यसलाई चाँही समस्या परेको भन्न मिल्ला जस्तो लाग्दैन।"

कतिपयले दोस्रो किस्ताको रकम पाउनका निम्ती इञ्जिनियरहरुको प्रमाणिकरण र अन्य प्रक्रियाले गर्दा पनि समय लागेको बताएको छ।