'राजनीतिक शक्ति एकजुट भएर अघि बढ्ने'

  • 26 जनवरी 2017

प्रधानमन्त्री प्रचण्डले देशमा चुनाव हुनै नदिएर अस्थिरता लम्ब्याउन खोजिए संविधान जारी गरेका राजनीतिक शक्ति पुन: एकजुट भएर अघि बढ्ने बताएका छन्।

संविधान संशोधन नहुँदासम्म चुनाव हुन नदिने संघीय गठबन्धनको चेतावनीका माझ प्रधानमन्त्रीले बिहीबार पर्वत महोत्सवमा त्यस्तो धारणा व्यक्त गरेका हुन्।

उनको भनाइलाई कतिपयले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पुन: राजनीतिक सहकार्यको सम्भावनातर्फको संकेत ठानेका छन्।

दृढता

त्यस्तो अभिव्यक्ति दिएका प्रचण्डले नहुने चुनाव घोषणा नगर्ने बताउँदै संघीय गठबन्धन लगायत असन्तुष्ट सबै पक्षलाई समेटेर अघि बढ्ने दृढता व्यक्त गरेका छन्।

वैशाखको अन्त्यमा स्थानीय तहको चुनाव गर्ने धारणा दोह(याएका प्रधानमन्त्री प्रचण्डले मधेसी, थारु, आदिवासी, जनजाति लगायत सबैलाई समेटने आफ्नो पूर्वदृढताबाट विचलित नभएको बताएका थिए।

त्यसको निम्ति आफूले सबै प्रयास गरिरहेको उल्लेख गर्दै प्रचण्डले भने, "कसैले देशमा राजनितिक स्थिरता र निर्वाचन हुनै नदिने भयो भने हामी संविधान बनाउन एक भएका शक्तिहरु फेरि एक पटक एकजुट भएर राजनीतिक स्थिरता दिने र देशलाई समृद्धि तिर लानुको कुनै विकल्प छैन।"

संविधान जारी गर्दा प्रधानमन्त्री प्रचण्डको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमाले सहितका दल एकजुट थिए।

संविधान मस्यौदालाई अन्तिम रुप दिने चरणमा भने मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले समेत साथ दिएको थियो।

कानुन

प्रधानमन्त्रीका भनाइमा निर्वाचन आयोगले चुनावभन्दा एक सयदिन अघि निर्वाचन सम्बन्धी कानुन खाँचो पर्ने आधिकारिक जानकारी सरकारलाई गराएको छ।

त्यसैले आउँदो १५ गतेभित्र निर्वाचन सम्वन्धी कानुन पारित गर्ने राजनीतिक समझदारी भएको उनको भनाइ थियो।

प्रचण्डले भने, "मैले यही हप्ता स्थानीय तहको निर्वाचनको घोषणा गर्ने र बैशाखको अन्तिम हप्ता चुनावको मिति पार्ने गरी तयारी गर्न सम्वन्धित सबैपक्षलाई आग्रह गरेको छु र आफू त्यो तयारीमा जुटेको छु।"

गत शनिबार नेपाली कांग्रेस र नेकपा एमालेसँगको छलफलमा चुनावको मिति छिट्टै घोषणा गर्ने सहमति नजिक पुगेको प्रधानमन्त्रीले यसअघि नै बताइसकेका थिए।

त्यसपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको बैठकमा प्रधानमन्त्रीले मोर्चाको सहमति विना चुनाव घोषणा नगर्ने वचन दिएको मोर्चाका नेताहरुले बताउने गरेका छन्।

मोर्चाले संविधान संशोधन विना चुनाव हुन नदिने चेतावनी दिँदै आएको छ।