आप्रवासीलाई रोक लगाउने निर्णयको बचाउ

  • 29 जनवरी 2017
ट्रम्प तस्वीर कपीराइट Getty Images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले, शरणार्थीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउन ल्याइएको नयाँ नियमले राम्रोसँग काम गरिरहेको बताएका छन्।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग बोल्दै उनले मुसलमानहरुलाई प्रतिबन्ध लगाएको भन्ने विषय अस्वीकार गरेका छन्।

तर ट्रम्पको कार्यकारी आदेशको विपक्षमा रहेकाहरुले उक्त आदेशलाई उल्ट्याउने प्रयासस्वरुप कानुनी कारवाही अघि बढाएका छन्।

यसैबीच अमेरिकाका एकजना संघीय न्यायाधीशले ट्रम्पको आदेश कार्यान्वयनमाथि अस्थायी रुपमा रोक लगाएका छन्।

न्यायाधीशको उक्त निर्णयसँगै आन्दोलनमा उत्रिएका अभियानकर्मीहरुले आफूहरुको कानुनी जित भएको भन्दै खुशीयाली मनाइरहेका छन्।

प्रावधान

डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धको प्रावधान अनुसार मुसलमान बहुल रहेका सात देशका स्थायी अनुमति लिएका मानिसहरुले अमेरिका बस्न पाउनेछन्।

तर जसले हाल अमेरिका छोडेका छन् उनीहरुले तत्काल फिर्ता हुन पाउने छैनन्।

स्थायी अनुमति लिएका केही त्यस्ता मानिसहरुका परिवार अमेरिकामै छन्।

तर तिनले अब अमेरिका फर्कन पुन: अर्को अनुमतिका लागि निवेदन दिनुपर्नेछ।

त्यस्ता निवेदनहरुलाई छुट्टाछुट्टै आधारमा हेरिने ह्वाइट हाउसले जनाएको छ। र, यो नियम लागू भइसकेको छ।

कतिपय त्यस्ता ग्रीन कार्ड अर्थात स्थायी बसोबासको अनुमति भएकाहरु अमेरिका जानका लागि उडान गर्नबाट ठाउँठाउँमा रोकिएका छन् भने कतिपय अमेरिकी विमानस्थल आइपुगेपछि हिरासतमा राखिएका छन्।

त्यसरी हिरासतमा पर्नेमा एकजना खालिद दर्विस हुन् जसलाई न्यूयोर्कस्थित जन एफ केनेडीमा उत्रनासाथ हिरासतमा राखिएको थियो।

तस्वीर कपीराइट @NYDIAVELAZQUEZ

कानुनी लडाईँ

उनले अमेरिकी राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले शपथ लिएकै दिन अमेरिका आउने भिसा पाएका थिए।

दर्विसले इराकस्थित अमेरिकी सेनाका लागि अनुवादकका रुपमा १० वर्ष काम गरेका थिए।

उनलाई छाड्नका लागि वकिलहरुले अदालतमा निवेदन दिएपछि मात्रै उनी हिरासतबाट रिहा भएका छन्।

अमेरिकी कंग्रेसकी एक सदस्य निडिया भ्लासक्वेसले ट्रम्पको कार्यकारी आदेशविरुद्ध आफू लड्ने बताएकी छन्।

उनले भनिन्, "यस्तो खालको कारवाहीले हाम्रो राष्ट्रिय सुरक्षालाई कमजोर पार्छ र हाम्रा राष्ट्रपतिले यो बुझेनन्। हामी यसबारे अदालतमा लड्नेछौं र अमेरिकाका कुनाकुनामा लड्नेछौं।"

दर्विस बाहेक करिव एक दर्जन यात्रुहरुलाई अमेरिका प्रवेशमा रोक लगाइ हिरासतमा राखिएको छ।

उनीहरुलाई रोकिएपछि अन्य कतिपय यात्रुले 'तिनीहरुलाई प्रवेश गर्न देउ' भन्दै चिच्याएका थिए।