डेमोक्र्याटद्वारा सुनुवाइ बहिष्कार

  • 1 फेब्रुअरी 2017
ट्रम्प तस्वीर कपीराइट REUTERS AND GETTY IMAGES

अमेरिकाको माथिल्लो सदन सिनेटका डेमोक्र्याट सदस्यहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रिपरिषदका लागि सिफारिस गरेका व्यक्तिहरुको अनुमोदनलाई रोक्ने रणनीतिको प्रयोग गरेका छन्।

उनीहरुले ट्रम्पले अर्थमन्त्रीमा सिफारिस गरेका स्टेभेन मनुसिन र स्वास्थ्यमन्त्रीमा सिफारिस गरेका टम प्राइसको अनुमोदनका लागि हुने मतदान बहिष्कार गरेका हुन्।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा लामो समयदेखि रिक्त रहेको पदका लागि निल गोर्सेचलाई सिफारिस गरेका छन्।

चासो

अमेरिकाको माथिल्लो सदन सिटेनको समितिहरुले ट्रम्पले कार्यकाल सम्हालेको दोस्रो साता थुप्रै उम्मेदवारहरुलाई अनुमोदन गर्ने ठानिएको थियो।

उनीहरुले अर्थमन्त्री र स्वास्थ्यमन्त्रीमा सिफारिस गरिएका स्टेभेन मनुसिन र टम प्राइसका आर्थिक गतिविधिबारे थप जानकारी चाहेको बताएका छन्।

उनीहरुले मनुसिनले पहिला काम गरेको वानवेष्ट बैंकको आर्थिक गतिविधिबारे आएका खबरहरुले पनि उनीहरुको चासो बढेको बताएका छन्।

त्यस्तै प्राइसको स्वास्थ्य कम्पनीको स्टकको व्यापारबारे आफूहरुले जान्न चाहेको उनीहरुले सञ्चारकर्मीलाई बताए।

यसअघि ट्रम्पले डेमोक्र्याट सदस्यहरुले राजनीतिक प्रकृयामा बाधा पुर्याइरहेको बताएका थिए।

चेतावनी

डेमोक्र्याट सदस्यहरुले ट्रम्पले सिफारिस गरेका व्यक्तिको अनुमोदन पर धकेलिरहेको बेला ट्रम्पले सर्वोच्च अदालतमा रिक्त रहेको पदमा संघीय अदालतका न्यायाधीशलाई सिफारिस गरेका छन्।

उनको यो सिफारिसलाई माथिल्लो सदन सिनेटले अनुमोदन गर्नुपर्नेछ।

जहाँ डेमोक्र्याट सदस्यहरुले आफूले पुरातनवादी लागेका उम्मेदवारलाई अनुमोदनमा रोक लगाउने चेतावनी दिएका छन्।

४९ वर्षीय गोर्सेच कोलोराडोका संघीय पुनरावेदन अदालतका न्यायाधीश हुन्।

तस्वीर कपीराइट Getty Images

प्रतिन्ध

यसअघि महान्यायाधिवक्ताका लागि राष्ट्रपतिले सिफारिस गरेका जेफ सेसन्सलाई अनुमोदन गर्ने मतदान पनि पर धकेलिएको थियो।

सोमबार ट्रम्पले आप्रवासनसम्बन्धी आफूले ल्याएको अस्थायी नीतिबारे कानुनी प्रश्न उठाएको भन्दै कार्यवाहक महान्यायाधिवक्तालाई पदबाट बर्खास्त गरिदिएका थिए।

ट्रम्पको आप्रवासन सम्बन्धी कार्यकारी आदेशले मुसलमानहरुको मुख्य सातवटा देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ।

ट्रम्पको बर्खास्तमा परेकी कार्यवहाक महान्यायाधिवक्ता स्याली एट्सलाई पूर्वराष्ट्रपति बराक ओबामाले नियुक्त गरेका थिए।