भ्रष्टाचार आदेश विरुद्ध रुमेनियामा प्रदर्शन

  • 3 फेब्रुअरी 2017
रुमेनियामा प्रदर्शन तस्वीर कपीराइट Reuters

सरकारी आदेशको विरोधमा रुमेनियामा लगातार तेस्रो रात राजधानी बुखारेष्टमा असी हजार प्रदर्शनकारी उत्रिए भने देशभर अन्य बीस शहरमा पनि गरि करिब दुई लाख प्रदर्शनकारीहरु र्यालीमा सहभागी भए।

भ्रष्टाचारजन्य केही कृयाकलापलाई अपराध नमान्ने गरि नयाँ सत्ताधारी गठबन्धनले जारी गरेको आपतकालीन आदेशका विरुद्ध प्रदर्शनकारी जम्मा भएका छन्।

सो आदेश बमोजिम ४८ हजार डलर भन्दा कम रकमको भ्रष्टाचारमा सामेल सार्वजनिक पदधारी अधिकारीहरुलाई जेल सजाय हुने छैन।

आलोचना

आलोचकहरुका अनुसार सन् २००७ मा यूरोपेली युनियनमा सामेल भएयता भ्रष्टाचारको क्षेत्रमा रुमेनियाले हासिल गरेको सफलतालाई उक्त आदेशले उल्ट्याउन सक्ने छ।

सोसल डेमोक्र्याटिक नेता तथा प्रधानमन्त्री सोरिन ग्रीनड्यानुले आफ्नो आदेश फिर्ता नलिने बताए।

तर राष्ट्रपति क्लाउस योहानीसले उक्त आदेशलाई संवैधानिक अदालतमा चुनौति दिइने बताएका छन्।

राजधानी बुखारेष्टमा भएको प्रदर्शन त्यहाँ सन् १९८९ मा बामपन्थी शासन ढल्दाखेरि यताको सबभन्दा विशाल सरकार विरोधी प्रदर्शन भएको बताइएको छ।