‘संशोधन अघि बढाउने प्रधानमन्त्रीको वचन’

  • 3 फेब्रुअरी 2017
बैठक तस्वीर कपीराइट pm secretariat

प्रधानमन्त्री प्रचण्डले संसद्मा संविधान संशोधन विधेयक अघि बढाउने वचन दिएको संघीय गठबन्धनका नेताले बताएका छन्।

प्रधानमन्त्री र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित गठबन्धनबीच शुक्रबार बैठक भएको थियो।

सरकारले निर्वाचन आयोगलाई स्थानीय चुनावको तयारी गर्न औपचारिक आग्रह गर्ने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्रीले गठबन्धनलाई छलफलमा डाकेका थिए।

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार परिमार्जन सहित संविधान संशोधन र स्थानीय तहको प्रतिवेदनमा परिमार्जन भएमा चुनावमा जान तयार रहेको पुरानै धारणा गठबन्धनले राखेको थियो।

परिमार्जन

प्रधानमन्त्रीले परिमार्जन सहित संविधान संशोधन अघि बढाउने वचन दिएको बताउँदै उनले भने, "अन्य सबै शक्तिलाई समेटेर उचित ढंगले संशोधन परिमार्जन गरेर अघि बढाउने प्रधानमन्त्रीले वचन दिनु भयो।"

प्रधानमन्त्रीको दल नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पनि संविधान संशोधन विधेयक अघि बढाउने सहमति भएको बताए।

उनले भने, "सबै मिलेर जति सक्यो चाँडै संशोधन विधेयक पारित गराउन बल गरौं भन्ने छलफलको निष्कर्ष थियो। त्यसको लागि घनिभूत छलफलमा जुट्ने कुरा भएको छ।"

सरकारलाई निर्वाचनमा साथ दिने वचन दिएको नेकपा एमालेले संशोधन विधेयकलाई छलफलमा ल्याउन नदिने अडानमै छ।

हुन्छ

तर संघीय गठबन्धनले संविधान संशोधन नभए चुनाव हुन नदिने चेतावनी दिँदै आएको छ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले मोर्चालाई सहमतिमा ल्याउन अधिकतम प्रयत्न गर्ने तर सहमति हुन नसके पनि स्थानीय चुनाव गरिने बताएका छन्।

विराटनगरमा संचारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन हुन नसके संविधान संकटमा पर्ने चेतावनी दिए।

कोइरालाले चुनाव गर्ने कुरामा सत्तासहयात्री नेकपा माओवादी केन्द्रको नियतमाथि पनि शंका व्यक्त गरेका थिए।