पाठ्यक्रममा ‘नराम्री’ युवतीलाई धैरै दाइजो दिनुपर्ने लेखिएपछि…

  • 4 फेब्रुअरी 2017
दाइजो तस्वीर कपीराइट AFP

पश्चिम भारतको महराष्ट्र प्रान्तको एउटा पाठ्यक्रममा कम सुन्दर हुनु बढी दाइजो मागको कारण भएको उल्लेख गरिएपछि त्यसको व्यापक विरोध भइरहेको छ।

सामाजिक शिक्षा अन्तर्गतको पाठ्यक्रममा रहेको त्यस प्रकारको आपत्तिजनक विवरण उक्त पुस्तकबाट हटाइने एकजना मन्त्रीले बताएका छन्।

उक्त पाठ्यक्रममा दाईजोबारेको सो अंश सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आएका छन्।

त्यसता खालका किताबमा उल्लेखित जानकारीका कारण भारतमा व्याप्त पूर्वाग्रहसँग जुध्न कठिन भइरहेको कैयौँले धारणा राखेका छन्।

'प्रतिगामी'

महराष्ट्र प्रान्तले अनुमति दिएको सामाजिक शिक्षा विषयको पाठ्यक्रममा लेखिएको छ, "यदि कुनै युवती नराम्री र अपाङ्ग छ भने उसलाई विवाह गर्न गाह्रो हुने गर्छ, त्यस्ता युवतीसँग विवाह गर्न दुलहा र उसका परिवारले बढी दाइजो माग्ने गर्छन्।"

भारतीय सञ्चारमाध्यमहरुले उक्त विवरणलाई 'आश्चर्यजनक' भनेका छन् तर एकजना स्तम्भकारले त्यसले भारतमा व्याप्त प्रतिगामी सोच र व्यवहारलाई उजागर गरेको टिप्पणी गरेका छन्।

तस्वीर कपीराइट AFP

दाइजोको लेनदेन दक्षिण एशियामा शताब्दीयौँदेखि प्रचलनमा रहेको छ र दुलहीको परिवारले दुलहाको परिवारलाई नगद, लत्ताकपडा र गरगहना दाइजोमा दिने गरेका छन्।

भारतमा सन् १९६१ देखि नै उक्त चलनलाई गैरकानूनी घोषणा गरिएको छ तर अभियानकर्ताहरु भन्छन् दाइजोको कुप्रथाले भारतमा दह्रो गरी जरा गाढेको छ र त्यसका कारण महिलाहरुले ज्यानसम्म जाने किसिमका हिंसा खेप्नु परिरहेको छ।

सन् २०१५ मा भारतको महिला तथा बाल विकास मन्त्रालयले त्यसअघिका तीन वर्षमा दाइजोसम्बन्धी हिंसाका कारण प्रत्येक वर्ष झण्डै ८० हजार महिलाले ज्यान गुमाएको विवरण संसद्लाई जानकारी गराएको थियो।

गलत

गलत कारणहरुले भारतीय पाठ्यक्रम चर्चामा आएको यो पहिलोपटक भने होइन्।

अघिल्लो वर्ष मध्य भारतको छत्तीसगढ राज्यका एक शिक्षकले १५ वर्षका विद्यार्थीहरुको एउटा पुस्तकमा भारत स्वतन्त्र भएयता महिलाहरुले काम गर्न थालेको र त्यसले बेरोजगारी बढाएको उल्लेख गरेको गुनासो गरेका थिए।

र सन् २००६ उत्तरी राज्य राजस्थानमा १४ वर्षे विद्यार्थीको एउटा पाठ्यक्रममा गृहणीलाई गधासँग तुलना गरिएको थियो।