उत्तम नेपालीसंगको अन्तर्वार्ता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

उत्तम नेपालीसंगको अन्तर्वार्ता

  • 6 फेब्रुअरी 2017

अग्रणी चित्रकार उत्तम नेपालीले विश्वमा भर्खर शुरु हुँदै गरेको आधुनिक अमूर्त चित्रकलालाई नेपालमा व्याख्या, विस्तार र प्रचार प्रसार गर्नमा महत्वपूर्ण योगदान दिएको जानकारहरु बताउँछन्।

रुप विनाका रंगमा भाव र अर्थ देख्छन् यी ८० वर्षीय चित्रकार, र देखाउँछन् पनि।

करीब आधा शतक अघि जब कलाले परम्परागत सीमाहरु तोडेर अमूर्तताले विश्वभर एउटा तरंग ल्याइरहेको थियो, त्यही तरंगले छोयो उनलाई पनि।

र लखनउबाट परम्परागत 'वाश पेंटिंग' सिकेका उत्तम नेपाली बने अमूर्त चित्रकलाका मुखर अभियानकर्ता।

यथार्थवादी शुरुवात

पुरानो एउटा यथार्थवादी चित्र औंल्याउँदै उनले भने, "यो ताण्डव नृत्य हो, शिवले ताण्डव गरिरहेका छन्। आगो बलिरहेको छ, हाहाकार छ।

पार्वती उता उभिएर अनुनय विनय विन्ती गरिरहेकी छिन्।

यो एउटा भाव हो। यसमा कुनै अमूर्तता छैन।

परम्परागत कलामा, मान्छेको चित्र बनाएको छ भने मान्छेको रुप हुनुपर्यो, मान्छेको भाव भंगिमा हुनुपर्यो। मैले यस्तै चित्रहरुबाट कलाकारिता शुरु गरेको थिएँ।"

भावप्रधान

तर त्यसपछिका चरणमा उनले बनाएका चित्रहरुमा छन् मात्रै रंग र रेखाहरु, रुप विनाका भावहरु।

उनका मानिस पनि मानिस जस्ता छैनन्, छन् मानव बुझाउने केही आकारहरु, अर्धनिर्मित आकृतिहरु।

"आधुनिक कलामा मान्छेको चित्र बनाउँदा त्यहाँ मान्छे हुनुपर्छ भन्ने छैन।

विम्ब र प्रतीक, रेखा र रंगबाट पनि त्यही कुरा देखाउन सकिन्छ। हर विम्बको एउटा भाषा हुन्छ, आकार हुन्छ, भाव हुन्छ," उनी भन्छन्।

संसार संगै

परम्परागत र आधुनिक कला बनाउने पद्धतिमा त खासै फरक नभएको बताउँछन् उनी।

तर त्यो आधुनिक कला चाहिं "अनुहार नभएको, रुप नभएको, कस्तो कस्तो मान्छेलाई लाग्ने हगि?" उनी सोध्छन्।

"मलाई मात्रै होइन सबैलाई, विश्वमा जब आधुनिक कला शुरुशुरुमा आयो, धेरै मानिसलाई त्यो त्यस्तै नै लाग्थ्यो।"

परम्परागत कलामा समृद्ध नेपालमा त्यस्तो नबुझिने कलाको आवश्यकता नै किन पर्यो र? उनी ठान्छन्, नेपाल संसारबाट अछुतो त होइन।

युरोपमा जन्मेर उतै हुर्केको त्यो अमूर्त कला शुरु शुरुमा त मानिसले बुझ्दैनथिए, र धेरैले त्यसलाई बहुलठ्ठी र सिल्पटहरुको कला समेत भने।

तर कलाकारहरुले कला बनाउन भने छोडेनन्। नेपालले पनि कलाको क्षेत्रमा विश्वसंगसंगै मिलेर नै हिंड्नुपर्ने हुन्छ, र एक्लै त नेपाल रहन सक्दैन।

फराकिलो

आधुनिक कलाको फराकिलो सोच्ने तरिकाले उनलाई आकर्षित गरेको रहेछ।

"चित्र सिधिइसकेपछि मात्रै त्यसको रुपरंग थाहा हुन्छ," उनी भन्छन्।

"र रुपरंग कस्तो थाहा हुन्छ भने, परम्परागत चित्रको जस्तो व्याख्या हुन सक्दैन त्यस्तो चित्रको।

चित्र जस्तो अमूर्त हुन्छ व्याख्या पनि त्यस्तै अमूर्त हुन्छ: बुझ्न नसकिने तर अनुभव गर्न सकिने।"

बुझ्ने वाध्यता

चित्र नबुझिने भएपनि त्यस्ता चित्रले समाज र दर्शकलाई योगदान दिन सक्ने ठान्छन् उनी।

"त्यसले एउटा अभ्यास दिन्छ, नयाँ दृष्टिकोण सोच्न बाध्य गराउँछ," उनी भन्छन्।

"जबसम्म मानिसले वाध्यरुपमा केही कुरा बुझ्ने कोशिश गर्दैन, तबसम्म त्यो कुरा जानिन्न र बुझिन्न।"

तर जुन समयमा त्यो कला युरोपमा शुरु भयो त्यो बेलामा भन्दा अहिले समाजले त्यस्तो कला बुझ्न थालेको मान्छन् उनी।

कलाकारले जुन किसिमले व्यक्त गरेको छ, त्यसरी दर्शकले बुझ्ने अवस्था आइनसकेको भएता पनि अमूर्त चित्रकलाप्रति एउटा धारणा भने बनेको उनी पाउँछन्।

सुन्दरतामा बुझा

"मानिसहरु त्यस्तो कला हेर्दाहेर्दा यति अभ्यस्त भइसके कि अब त्यो कलामा रुचाएको रुप देखिन थाल्यो। देखिन थाल्यो मतलब उसले बुझ्न थाल्यो।"

मानिसहरुले त्यसमा सुन्दरता देख्न थाले र त्यसमा आनन्द लिन थालेको मान्दै उनी भन्छन, "आनन्द लिनु नै सुन्दरता हो।"

हुन त अमूर्त कलामा प्रत्येक दर्शकको आआफ्नै बुझाइ र अनुभव हुने गर्दछ र त्यो व्यक्तिगत अनुभव उनी स्वीकार्छन्।

"एउटी सुन्दर स्त्री दश जनालाई देखायो भने हरेकले त्यसका विभिन्न पक्षलाई सुन्दर मान्छन तर सुन्दर त सुन्दर नै भन्छन् सबैले।"

शीर्षकको महत्व

आधुनिक कलालाई बुझ्नका लागि शीर्षकको महत्व धेरै रहेको उनी बताउँछन्।

"शीर्षक अनुरुप नै हेर्ने बाटो बन्छ। शीर्षक होला मेरी प्रियसी।

दर्शकले पनि त्यही अनुरुप हेर्न खोज्छ, कि जे भनेको छ त्यो कहाँ छ त?

तर त्यहाँ प्रियसी त छैन, कुनै भूतनी हो कि प्रेतनी हो कि के हो के हो जस्तो देखिन्छ त्यहाँ।"

अभिव्यक्ति केन्द्रित

तर कलाकारका लागि भने सौन्दर्य पक्ष भन्दा पनि अभिव्यक्ति पक्ष बढी महत्वपूर्ण रहेको उनी मान्दछन्।

"त्यसले भन्न खोजेको के हो? त्यसले देखाउन खोजेको के हो?

कुनै दर्शकलाई त्यो कुरा अलिकति देखिन्छ, पूर्ण त देखिन्न होला। र कुनैलाई पटक्कै देखिन्न।

दर्शकले त्यो कुरा जति बढी बुझ्यो त्यति नै बढी त्यो चित्र अर्थपूर्ण हुन जान्छ दर्शकका लागि।" आधुनिक चित्रको अर्थ र सफलतालाई यसरी व्याख्या गर्दछन् उनी।

परम्परागत विम्बहरु

हुन त उनका सबै चित्रहरु पूर्णतया अमूर्त पनि छैनन्।

मन्दिरका टुँडालहरुका मिथकीय चित्रहरुलाई उनले आधुनिक शैलीमा 'इरोटिका' भन्ने श्रृंखलामा उतारे, र अझै पनि उनका घरमा थाकका थाक छन्-- कतै स्वस्तिक त कतै चन्द्र र सूर्य जस्ता परम्परागत विम्ब अंकित चित्रहरु।

विम्बहरुको पुनर्प्रयोग हुनुलाई स्वाभाविक मान्छन् उनी, भन्छन्, "परम्परा कहिल्यै पुरानो हुँदैन - त्यसको रुप मात्रै बदलिन्छ।

तर परम्परागत र आधुनिक चित्रकारले त्यही विषयमा काम गर्दा निकै फरक पर्छ, ती विम्बको अर्थलाई नयाँ परिवेशमा परिभाषित गरिन्छ। विषयमा अन्तर नभए पनि कलाकारको सोच र प्रस्तुतिमा फरक पाइन्छ।"

साहित्यकारहरुको मुहारचित्रको श्रृंखला बनाउने देखि लिएर आफ्ना चित्रकलामा आफ्नै कविता लेख्ने लगायतका विभिन्न आधुनिक प्रयोग गरेका नेपाली कवि पनि हुन्।

कविता

थुप्रै वर्ष अघि छापिएको कविताको पुस्तकको एउटा कविता कण्ठै रहेछ उनलाई, सुनाउँछनः

बिहानी पखै कालो रात भएछ

खल्तीमा राखेको ठूलो चन्द्र हराएछ

हुन त जीवनको यो पहिलो रात हो

हराएको चन्द्र पनि पहिलो हो

तर यसपल्ट हतासिएछु

कहिं भोलि बिहानको सूर्य पनि चन्द्र झैं नहराओस्।

अथक कलाकारिता

"अर्थात मैले धेरैपटक अवसरहरु गुमाएँ होला र भोलि पनि त्यस्तै होला भनेर डराउँछु।

तर मेरो जुन अपेक्षा अब हराउनु भएन।

भोलि फेरि नहराउन अब अर्को अपेक्षा पूरा होस्।"

कलाका अथक साधक नेपालीले भविष्यमा पनि चित्र बनाइरहने अपेक्षा गरेका छन्।

भन्छन्, अमेरिकामा हुँदा तीन पटक हृदयाघात हुँदा पनि अस्पतालका भित्ताहरु खाली खाली देखेर चित्र बनाउन मन लाग्यो।

र अब त उनी नेपालमा आफ्नै स्टुडियोमा फर्किसकेका छन् र सकृयताका साथ फेरि पनि चित्रकलामा नयाँ नयाँ प्रयोगमा अघि बढिरहेका छन्।